Aamsanchar

प्रदेश १ काे मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, यस्तो छ कार्कीको राजनीतिक यात्रा

Author Image
आइतवार, पौष २४, २०७९

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।

कार्कीको राजनीतिक यात्रा
अनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका खेलेका कार्की २०५५ सालमा अध्यक्षको जिम्मेवारीमा रहेका थिए।

स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए।

२०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रूपनारायण श्रेष्ठ, बिन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिकामा थिए।

पार्टीको महाधिवेशनमा स्वयंसेवक पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा आबद्ध कार्की नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए।

२०७१ दखि २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रूपमा जिम्मेवारी वहन गरेका कार्की संविधान अनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रूपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन्।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर