विराटनगरः
सडक निर्माणमा खटिएको डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ।
विराटनगरको रोडशेस चोक क्षेत्रमा बाटो निर्माणमा खटिएको डोजरले बिहीबार क्याम्पस समयमा महेन्द्र मोरङ क्याम्पसको विविएस दोस्रो वर्षमा अध्ययनरत सुरज यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट यादव घाइते भएपछि आक्रोशित विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
विद्यार्थीले क्याम्पस परिसरभित्रबाट प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो। घाइते यादवलाई उपचारका लागि अस्पताल लगिएको छ। विद्यार्थीले आक्रोशित हुँदै प्रदर्शनसमेत गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयबाट स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीसँग झडप भएको हो। घटना साम्य पार्न प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो।
पक्राउ परेका चारजना विद्यार्थीलाई भने प्रहरीले छाडिदिएको छ। स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। विवाद मिलाउन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको छ।