Aamsanchar

बिर्तामोड ५ का वडाध्यक्ष प्रसाईँद्वारा धर्ना स्थगित, वडा सचिवलाई नगरपालिकाले स्पष्टीकरण सोध्ने र सरुवा गर्ने 

Author Image
शुक्रवार, असार २९, २०८०

 


बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटक पटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको काम बाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने  निर्णय गरेको हो ।

बैठकले सचिव पोखरेलको ई–हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिति, बिदा, आवश्यक हुनुपर्ने कार्यालय समययावधिको हिसाब गरि निजामती सेवा नियमावली २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टी गर्ने समेत निर्णय गरेको छ ।

यससँगै बैठकले कर्मचारीहरूको आन्तरिक स्थानान्तरण र व्यवस्थापनका सम्बन्धमा समेत  आवश्यक छलफल गरेको छ । वडा नम्बर ५ मा अब अर्कै वडा सचिवले काम काजको जिम्मा पाउने छन् । नगरभित्रकै कुनै वडाबाट एक जना सचिव उक्त वडामा पठाउने तयारी रहेको नगरपालिकाले जनाएको छ ।

वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहिमा असर परेको भन्दै वडाअध्यक्ष रोहित प्रसाईँले गत मंगलबार देखि नगरपालिकाको कार्यालय अगाडि टेबल कुर्सी राखेर धर्ना सुरु गर्नु गरेका थिए ।

वडाअध्यक्ष प्रसाईँले  आजको बैठकले माग सुनवाई गरेका कारण धर्नाको कार्यक्रम स्थगित भएको प्रतिक्रिया दिए। उनले भोलि देखि वडा कार्यालयबाटै सेवा प्रदान गरिने बताएका छन्।

कार्यापालिका बैठकले अन्य कर्मचारीहरूले पनि कार्यालय समय र नियमितताको परिपालना गरे नगरेको जाँचबुझ गरि नभएको पाइए आवश्यक कारबाही गर्ने निर्णय  गरेको छ । बैठकमा विकास निर्माण, नगरपालिका क्षेत्रमा वर्षाले पारेको असर लगायत विभिन्न विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर