Aamsanchar

बिर्तामोडमा  भोलि देखि फोहोर वर्गीकरण अभियान सुरुहुने

Author Image
शुक्रवार, साउन ५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरूको अगुवाइमा साउन ६ गते अर्थात भोलि देखि नै यस अभियानलाई अघि बढाउने भएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिहरूको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ । बैठकले सरसफाइ कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याल्ने को टोल विकास समिति मार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै सरसफाइ शुल्क मध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहाँको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वर्गीकरण गरिएको कुहिने फोहोर कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा पठाउने र नकुहिने फोहोरका लागि उपयुक्त स्थानको खोजी गरी व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ । यस्तै बिर्तामोडको फोहोर सङ्कलनको जिम्मा पाएको निराकार सरसफाइ प्रा. लि. को अनुगमन गर्ने र कम्पनीको क्षमताको विश्लेषण गरी मूल्याङ्कन गर्ने पनि निर्णय भएको छ । बैठकले विगत १ वर्षदेखि फोहोर व्यवस्थापनका लागि निशुल्क जग्गा उपलब्ध गराउने समाजसेवी विवेक प्रसाईँलाई धन्यवाद दिएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख प्रसाईँले कनकाई बिर्ताअर्जुन नविकरणीय ऊर्जामा नकुहिने फोहोर व्यवस्थापनको लागि पनि काम अघि बढेको जानकारी दिनु भयो । यसको मेसिन खरिदको लागि टेन्डर प्रक्रिया अघि बढेको बताउनु भयो । मेसिन खरिद पछि नकुहिने प्लास्टिक जन्य फोहोरबाट पेवर्स लगायतका सामाग्री उत्पादन हुनेछ । बिर्तामोड नगरपालिकाबाट उत्पादन भएको कुहिने फोहोर नविकरणीय ऊर्जामा पठाउन थालिएको छ ।

प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्यमा बसेको बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरू अग्निप्रसाद पाण्डे वडा नम्बर १, किशोर पौड्याल वडा नम्बर २, मदन बुढाथोकी वडा नम्बर ३, रोहित प्रसाईँ वडा नम्बर ५, सूर्यप्रसाद कन्दङ्वा वडा नम्बर ६, अविरल कृष्ण खरेल वडा नम्बर ७, हरि चौलागाईँ वडा नम्बर ९ र दुर्योधन गुरुङ वडा नम्बर १० लगायत कार्यपालिका सदस्य, वडा सदस्यहरूले फोहोर व्यवस्थापनको समस्या र समाधानको उपायको बारेमा बोल्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर