पेकिङ : ‘साओला’ नामको आँधी शनिबार दक्षिणी चीनमा आइपुगेको छ। आँधीको चेतावनीलाई ध्यानमा राख्दै एक दिनअघि करिब नौ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
यसका साथै आँधीका कारण हङकङ र चीनका तटीय दक्षिणी भागहरूमा व्यापारिक गतिविधि, यातायात सेवा र विद्यालय बन्द गरिएका छन्। कुवाङतोङ प्रान्तको मौसम विज्ञान ब्यूरोले यो शक्तिशाली आँधी हङकङको दक्षिणी भागमा रहेको चुहाई शहरमा बिहानै ३:३० बजे आएको बताएको छ।
उक्त आँधी प्रतिघण्टा १६० किलोमिटरको गतिमा रहेको थियो।
यो आँधी कुवाङतोङको तटीय किनारमा दक्षिणपश्चिमतर्फ लाग्ने पूर्वानुमान गरिएको थियो तर अहिले कमजोर हुन थालेको छ। कुवाङतोङको उच्च जोखिम क्षेत्रहरूबाट ७ लाख मानिसलाई शुक्रबार अन्यत्र सारिएको थियो। छिमेकी फुच्यान प्रान्तमा अन्य १ लाखलाई सुरक्षित स्थानमा सारिएको थियो।
यसैगरी ८० हजार माझीलाई बन्दरगाहबाट अन्यत्र सारिएको थियो। अधिकांश कामदार घरमै बसेका छन् र विभिन्न शहरहरूमा अर्को हप्तासम्म विद्यालयहरू बन्द गरिएको छ।
हङकङको शेयर बजार शुक्रबार नै बन्द गरिएको थियो। यसबाहेक करिब ४६० उडान रद्द हुँदा सयौं यात्रु विमानस्थलमा अलपत्र परेका छन्।
समाचार च्यानल ‘सीसीटीभी’ ले आफ्नो समाचारमा रेलवे अधिकारीहरूले शुक्रबार रातिदेखि शनिबार साँझसम्म कुवाङतोङ प्रान्त आउने र जाने रेल सञ्चालनमा रोक लगाएको बताएका छन्।