(शान्तिराम बस्नेत)
शिवसताक्षी,
प्रायः जसो लासहरु मात्र जलाउन व्यस्त रहने कनकाई नदीको पुल दक्षिण पश्चिमी तटमा शनिबार ११ बजेतिर भने पृथक दृष्य थियो । न त त्यहाँ त्यो बेला कुनै लास थियो न त मलामी नै । तरपनि त्यहाँ थुप्रै महिलाहरु यताउता दगुरिरहेका थिए ।
दृष्य थियो कनकाई नदीको उक्त क्षेत्रलाई सरसफाई गर्ने । शिवसताक्षी १० माइधारस्थित माइबेनी महिका कृषि सहकारी संस्थाको अगुवाइमा धार्मिक तथा पर्यटकीयका साथै पूर्वमा परिचित रहेको कनकाई नदीको मुक्तिघाट क्षेत्र सरसफाई गरेको हो ।
दिनहुँ जसो लासहरु जलाउने तथा मलामीहरुले कपाल खौरेर ब्लेड त्यही फाल्ने, बोतलहरु जथाभावी फाल्नाले उक्त क्षेत्र डस्टबिनका रुपमा परिचित हुन थालेको थियो । सरसफाई कार्यक्रममा भेटिएकी उक्त सहकारीकी अध्यक्ष रोहित भट्टराई भन्छिन् ः धार्मिक तथा पर्यटकीय स्थलका साथै पूर्वकै मुक्तिघाटका रुपमा परिचित यस क्षेत्रको पर्यावरण वचाउनमात्र हैन, सफा सुग्घर राख्नु हाम्रो कर्तव्य हो । त्यसैले यस्तो सरसफाई कार्यक्रम शुरु गरिएको हो । अब हप्तैपिच्छे हामी उक्त क्षेत्रलाई सफासुग्घर राख्छौं ।
त्यस्तै वडा नागरिक मञ्च, शिवसताक्षी १० की अध्यक्ष तथा उक्त सहकारीकी सचिव बिमला संग्रौलाका अनुसार उक्त क्षेत्र सरसफाइ गर्नका लागि मुक्तिघाट समितिले निश्चित व्यक्ति तोकेता पनि काम नगर्दा फोहोर बढेको र सौन्दर्यतामा समेत खलल पुगेको बताइन् ।
यता बजार बिकास समितिका अध्यक्ष कुमार गिरी मुखको माक्स खोल्दै भन्छन् ः आफ्नो ठाँउको इज्जत भनेको अरुले बचाउने हैन, आफैं कम्मर कसेको हौं, यसले सार्थकता पाउँछ । तर पीडा हुँदाहुँदैं पनि मलामीजनहरुले अलिकति विचार पु¥याइदिए वेस हुनेथियो ।
यता आफ्नै क्षेत्रको प्रतिष्ठासंग जोडिएको उक्त क्षेत्रमा सरसफाइ भइरहँदा समाजमा केही प्रतिष्ठितहरु भने कानेखुसी गर्दै गरेको प्रष्ट देखिन्थ्यो ।सरसफाई कार्यक्रमा उक्त सहकारी सम्पूर्ण सदस्यहरुका साथै माइधाम बजार बिकास समितिका आंशिक सदस्यहरु मात्र उपस्थित थिए ।