Aamsanchar

अन्तर्राष्ट्रिय मित्रता र दिवस !

Author Image
सोमवार, साउन १४, २०८१

कृष्ण र सुदामाको मित्रता
सुदामाले कृष्णलाई सोधे

कृष्ण, मित्रताको मतलब के हो ?
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुन कालागि निस्वार्थ हुन जरुरी छ ।

गीतहरूमा मित्रता
नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा भनेर । त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरी देखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?सुगम पोखरेलको मेरो एउटा साथी छ देखि दीपेश पोखरेलको के म तिम्रो साथी बन्न सक्छु लगायत अन्य थुप्रै छन् मित्रताका गीतहरू । घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि विभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्त्व दिएको छ, मित्रताका बारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।

गाँस छाड्नु तर साथ नछाड्नु
आज सम्झना गरौँ न, कक्षाकोठामा सिसा कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पत्ति साट्दासम्म साथ दिएका लिएका मित्रहरूलाई । इजार या इलास्टिक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सद्भाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्दछ । लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरू देखी भागेर फिल्म हेर्न गएकाहरू सम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरू सम्म, अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, वयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।

मदर टेरेसाका शब्दमा भन्न चाह्यौँ
आफ्ना मित्रलाई सिद्ध हुन भनेर आस नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यस अर्थमा हामीहरूले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरू सिकेका हुन्छौ । अर्कोतर्फ सत्य अनि सही मित्रहरू छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाउँमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।

अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय मित्रता दिवस मूलतः हल मार्क द्वारा सन् १९१९ मा स्थापना गरिएको थियो। यो मानिसहरूले एक अर्कालाई कार्ड पठाएर आफ्नो मित्रता मनाउने दिनको रूपमा मनाइएको थियो, तर सन् १९४० मा अर्थतन्त्र प्रभावित भयो र बजार सुक्यो र अन्ततः, यो पूर्ण रूपमा समाप्त भयो। यद्यपि, सन् १९९८ मा विनी द पूहलाई संयुक्त राष्ट्र सङ्घमा विश्वको मित्रताको राजदूत नाम दिइएको थियो र अप्रिल २०११ मा, संयुक्त राष्ट्रले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दियो यद्यपि अधिकांश देशहरू अगस्तको पहिलो आइतबार मनाउँछन् ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर