Aamsanchar

एमाले सांसद ज्ञानबहादुर तामाङले नेसनल नमोबुद्ध सहकारीको अध्यक्ष हुदाँ २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप

Author Image
आइतवार, कार्तिक १८, २०८१

काठमाडौँमा रहेको नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडका सञ्चालकहरुले बचतकर्ताको २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।  सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको रकम अपचलन गरेर आफू बाहिरिएका छन् भने हाल डमी सञ्चालक खडा गरेका छन् ।

२०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ हाल बागमती प्रदेश सभा सांसद रहेका छन् । उनी एमाले उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंखर पोखरेलका अति निकट र अति प्रिय व्यक्तिमा पर्छन् । गत निर्वाचनमा यिनै दुई पोखरेलबन्धुलाई रिझाएर तामाङले समानुपातिक उम्मेदवारको सूचीमा बस्ने अवसर पाएका थिए । त्यतिखेर पैसाको बलमा उनले त्यो अवसर पाएको भन्दै काभ्रे एमालेमा व्यापक असन्तुष्टि देखिएको थियो ।

तामाङले आफू सहकारीको अध्यक्ष हुँदा बचतकर्ताहरूको रकम हिनामिना गरेको पीडितले दिएका निवेदनहरूमा उल्लेख छ । उनले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिए पनि कुनै छानबिन र कारबाही भएन । २०७९ पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए ।

०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेको तर्फमा काभ्रेबाट समानुपातिक सांसद निर्वाचित भएपछि तामाङले सहकारीको अध्यक्ष पद छोडेका थिए । मंसिरमा सांसद बनेका उनले पुसमा सम्पन्न साधारणसभामा यसअघि सचिव रहेका राजकुमार लामालाई अध्यक्ष पद सुम्पेका हुन्।तामाङले सहकारीको नेतृत्व छोडेको ६ महिना नबित्दै बचतकर्ताहरू आफ्नो रकम फिर्ताका लागि आन्दोलनमा समेत उत्रिएका थिए । आन्दोलनको कुनै असर नपरेपछि उनीहरूले सहकारी रजिस्ट्रार कार्यालय, हेटौँडामा उजुरी दिएका हुन् ।

२०८० भदौ २९ गते ९ जना बचतकर्ताले आफ्नो रकमको फिर्ताका लागि सहजीकरण गरिदिन निवेदन दिएका थिए । यस्तै, २०८० असोज १५ गते ३२ जना बचतकर्ताले आफ्नो २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बचत फिर्ताका लागि सामूहिक उजुरी दर्ता गराएका थिए ।

यसरी हालसम्म सामूहिक र एकल गरी यस सहकारीको अपचलनविरुद्ध ४ वटा उजुरी परेको सहकारी रजिस्ट्रार कार्यालयका अधिकारी बताउँछन् । एमाले सांसद तामाङले शक्तिको आडमा अनुसन्धान दबाइरहेकाले धेरै पीडित अझै उजुरी दिन सकिरहेका छैनन् । यस नेसनल नमोबुद्ध सहकारीमा बचतकर्ताको २ अर्ब रुपैयाँ डुबेको छ ।

कतिपय पीडितहरु तामाङविरुद्धका उजुरी लिएर काभ्रेका संघीय सांसद गोकुल बाँस्कोटाकहाँ पनि पुगिरहेका छन् । बाँस्कोटाले यो पार्टीको मामला नभएकाले कानुनी कारबाहीकै लागि प्रयास गर्नुपर्ने जवाफ दिएको केही उजुरीकर्ताले बताएका छन् । केही पीडितले एमालेकै सहकारी विभागमा गुनासो गर्दा पनि पार्टी नेतृत्वले कुनै पहल नगरिदिएको भन्दै गुनासो गरिरहेका छन् । पार्टीका शक्तिशाली नेताहरुको संरक्षण प्राप्त भएपछि तामाङले सर्वसाधारणको बचत पचाउने आँट गरिरहेको पीडितको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य हालसम्मकै महँगो
बिहिवार, कार्तिक १५, २०८१
ह्वात्तै बढ्याे सुनको भाउ
बुधवार, कार्तिक १४, २०८१
सुनको भाउले बनायाे नयाँ कीर्तिमान
मङ्गलवार, कार्तिक १३, २०८१