बिर्तामाड।
आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र प्रेम गीत–२ को शीर्ष गीतको कभर गीत प्रतियोगिता हुने भएको छ ।
चलचित्र युनिटले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गाउँमा लुकेर रहेका प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कभर गीत प्रतियोगिता गर्न लागेको हो । चलचित्रका कथा लेखक तथा निर्देशक रामशरण पाठकले आसुसेन फिल्मस् प्रालिले सँधै कलाको सम्मान गर्ने बताए । उनले भने– ‘हाम्रो चलचित्र प्रोडक्सन हाउसले सँधै कलाको सम्मान गर्छ, त्यसैले कभर गीत प्रतियोगिता गर्न लागेका हौँ’ ।
प्रतियोगितामा सहभागी हुन चलचित्रको शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत भिडियोसहित हाईलाइड्स नेपालको युवट्युव च्यानेलमा अपलोड गर्नुपर्ने पाठकले बताए । यो गीत गाएर असार २० गतेसम्म युवट्युबमा अपलोड गर्नुपर्ने हुन्छ, गीतमा महिला र पुरुष गरेर २ जनालाई प्रथम घोषणा गरिने छ । उनीहरुले एक÷एक लाख रुपैयाँ नगद र आसुसेनको ब्यानरमा निर्माण हुने अर्को चलचित्रमा गाउने मौका पाउने पत्रकार सम्मेलनमा जनाइएको छ ।
लेखक तथा निर्देशक पाठकले आफूहरुलाई प्राप्त गीतको भिडियो असार ३० गते आफ्नो आधिकारिक युवट्युवपेजमा अपलोड हुने बताए । उनले भने– ‘हामी असार ३० गते अपलोड गर्छौँ र भदौ १ गते फाईनल राउण्डमा छनौट भएकालाई सहभागी गराउँछौँ’ । युवट्युवको भ्युअर्सका आधारमा १० जना र निर्णायकले ५ जना छनौट गर्ने पाठकले बताए । उनले भने– ‘१५ जनालाई फाइनलमा सहभागी गराउँछौँ, भ्युअर्सका आधारमा पछि परेका राम्रा ५ प्रतिभालाई जजहरुले छनौट गर्नुहुने छ ।’
यस अघि चलचित्र प्रेम गीतको शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को कभर गीत प्रतियोगितामा सागर संसार राई प्रथम भएका थिए । उनले एक लाख नगदसँगै ‘प्रेम गीत २’ मा गाउने अवसर पाएको चलचित्र युनिटले जनाएको छ ।
२ करोड भन्दा बढी लगानीमा निर्माण भएको चलचित्र साउन १३ गतेदेखि प्रदर्शनमा आउने छ । चलचित्रमा नेपालीभाषी भएर अन्य देशमा बसोबास गरेकाको नेपाल प्रतिको मायालाई समावेश गरिएको लेखक तथा निर्देशक पाठकले बताए । पाठकका अनुसार चलचित्र वर्मा, थाईल्याण्ड र नेपालका बिभिन्न क्षेत्रमा छायाँकन गरिएको छ ।