अर्जुनधारा,
झापाको अर्जुनधारा जलेश्वरधाममा गत चैत २४ गतेदेखि सञ्चालन भइरहेको वैकल्पिक चिकित्सा शिविर आगामी जेठ १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिको आयोजना र भारतको जोधपुरस्थित एक्युप्रेसर रिसर्च एण्ड ट्रिटमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा भइरहेको शिविरमा आउने विरामीको चाप बढेपछि एक हप्ता समय थपिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।
रेकी, एक्युप्रेसर एवम् सुजोक पद्धतिद्वारा अर्थात् बिना औषधिको प्रयोग उपचार गरिने सो शिविरमा चिकित्सकहरु भारतको राजस्थान निवासी लक्ष्मीनारायण स्वामी, मध्यप्रदेश निवासी इसुपाल सिम्भूलर, उत्तरप्रदेश निवासी अरविन्दकुमार अञ्चल र पश्चिम बंगाल निवासी अविजित सिन्हाले बिरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेका छन् ।
बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म दुई चरणमा स्वास्थ्य परीक्षण तथा उपचार हुँदै आएको शिविरमा हालसम्म २८७ जनाले स्वास्थ्य सेवा लिएको धामका कार्यालय सचिव विष्णु भट्टराईले जानकारी दिए ।
शिविरमा उपचारको लागि आउने विरामीमध्ये ८० प्रतिशत जोर्नी दुखाई, कब्जियत, मधुमेह, रक्तचाप लगायतका समस्या भएको बिरामीहरु रहेको उपचारमा संलग्न चिकित्सकले बताए । त्यसबाहेक शिविरमा गठिया, घुँडा दुख्ने, दम, थाइराइड, पत्थरी, बाथ, माइग्रेन, मोटोपनलगायत रोगहरुको उपचार हुने बताइएको छ ।
शिविर अवधिभर प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क लिइने सो शिविर आगामी जेठ १५ गतेसम्म सञ्चालन हुने धामका कार्यालय सचिव भट्टराईले जानकारी दिए ।