काँकरभिट्टा।

झापामा मानसिक रोगीको संख्या बढ्दै गएको छ । मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि प्रहरीलाई समस्या हुन थालेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए । खुल्ला सीमानाका कारण मानसिक सन्तुलन गुमाएका मानिस काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने गरेको र सडकपेटीमा बस्ने गरेका कारण प्रहरीलाई सुरक्षामा समस्या हुने गरेको रेग्मीले बताए ।
त्यसमा पनि महिलाको हकमा सबैभन्दा बढी समस्या हुन्छ– प्रहरी नायव उपरीक्षक रेग्मीले भने– ‘मानसिक सन्तुलन गुमाएका महिला बलात्कृत हुने समस्या छ ।’ काँकरभिट्टा, बिर्तामोड, दमक, भद्रपुर लगायतका स्थानमा मानसिक सन्तुलन गुमाएका भारतीय तथा केही नेपाली नागरिकसमेत देखापर्ने गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएका पुरुषभन्दा महिला बढी छन्– इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले भने – उनीहरु बढी असुरक्षित पनि छन् । रातको समयमा सवारी दुर्घटना हुन नदिन हामीले मानसिक सन्तुलन गुमाएकाहरुलाई सडकपेटीबाट हटाउने गरेका छौं– लिम्बूले भने– उनीहरुको दीर्घकालीन व्यस्थापनका लागि नसोच्ने हो भने समस्या दिन प्रतिदिन बढ्दै जान्छ ।
मानसिक सन्तुलान गुमाएका महिला लागूऔषध सेवनकर्ता र मादक पदार्थ सेवन गरेका पुरुषले रातको समयमा जिस्क्याउने तथा बलात्कार गर्ने गरेका कारण केही महिला गर्भवती समेत छन् । सडक किरानमा बस्ने त्यस्ता महिला वलात्कृत हुने गरेकाले प्रहरीलाई झन समस्या थपिएको बताइएको छ । मानसिक सन्तुलन गुमाएर सडकपेटीमा बस्ने मानिसको संख्या कति छ भन्ने तथ्याङ्क यकिन नभए पनि मानसिक सन्तुलन गुमाएकाहरुको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ ।
मानिसक सन्तुलन गुमाएर सडकपेटीमा बस्नेलाई राख्ने उचित स्थानको अभावका कारण समस्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक रेग्मीले बताए ।
बिगत १० बर्षदेखि मानसिक सन्तुलन गुमाएकी २५ बर्षीय ओली थरकी एक महिला अहिले पनि काँकरभिट्टाको सडकपेटीमा छन् । उनले सडकमै ३ वटा बच्चा जन्माइ सकेकी छन् । उनी अहिले पनि गर्भवती छिन् । स्वास्थ्य केन्द्र काकँरभिट्टाकी अनमी बिद्या शिवाकोटी ती महिलाको प्राथमिक उपचार गरिरहेको बताउँछिन् । स्थानीय एक महिलाले उनलाई खानाको व्यवस्था गरिरहेकी छिन् ।
त्यस्तै काँकरभिट्टामा नै अन्दाजी ५५ बर्षीया अर्की एक महिला सडकपेटीमा भौतारिँदै हिँडेको देख्न सकिन्छ । दोकनडाँडामा देखापर्ने अर्की एक महिला पनि ५ बर्षदेखि काँकरभिट्टाको सडकमा दिन बिताइरहेकी छिन् । उनीहरु जस्तै पुरुष पनि काँकरभिट्टा क्षेत्रमा ५÷७ जना छन् । उनीहरुको पनि अवस्था दयनीय छ । मानसिक सन्तुलन गुमाएका एक वृद्धको यसैसाता मृत्यु भएको छ । उनको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

