Aamsanchar

पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट प्रजातान्त्रिक आन्दोलनका दुई योद्धा सम्मानित

Author Image
शनिवार, वैशाख २०, २०८२

झापा- झापाका दुई जना प्रजातान्त्रिक आन्दोलनका  योद्धा पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट सम्मानित भएका छन्। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा र पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहकार्यमा उनीहरूलाई सम्मान गरिएको हो।

आदर्श नागरिक सम्मान २०८१ बाट मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेललाई सम्मान गरिएको हो। दम्पती याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो।

२०२८ सालमा मेची पुल निर्माणका लागि स्थानीयवासीबाट संकलित २५ लाख रुपैयाँ तत्कालीन युवराज बीरेन्द्रमार्फत राजा महेन्द्रलाई हस्तान्तरण गरिएको थियो। सो कार्यको विरोध गर्दै आवाज उठाएका याम भण्डारी र दिव्यरत्न भुर्तेललाई त्यसबेला गिरफ्तार गरी चरम यातना दिइएको थियो।

उनीहरूको त्यस साहसिक कदमको कदरस्वरूप प्रतिष्ठानले एक लाख एक हजार रुपैयाँ राशिसहितको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरेको हो। प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतले उक्त जानकारी दिएका हुन्।

शनिबार बिर्तामोडमा सम्पन्न सम्मान समारोह प्रतिष्ठानका सभापति वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्यसहित पूर्ण–टुङ्ग अक्षय कोषका सदस्य र कार्यसमितिका प्रतिनिधिहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

समाज रुपान्तरणमा पु¥याएको योगदानको मूल्यांकनस्वरूप यस वर्षको सम्मान भुर्तेल र भण्डारीलाई प्रदान गरिएको हो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले स्वागत मन्तव्यसहित संस्थाको परिचय गराएका थिए भने सचिव लक्ष्मण ढकालले सम्मानित व्यक्तित्वहरूको जीवनी प्रस्तुत गरेका थिए।

कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधानसभा सदस्य सुधिर शिवाकोटीलगायतको आतिथ्य रहेको थियो। कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन्।

प्रतिष्ठानले विगत तीन दशकदेखि समाज रुपान्तरणमा योगदान दिने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ। गत वर्ष आदर्श नागरिक सम्मान नेपाली हास्यजगतका विशिष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रूपमा प्रदान गरिएको थियो।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर