

काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले र दोस्रो सेमिफाइनलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

घरेलु टोली मलेशियाले जीतका लागि दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर चार बलमा एक विकेट गुमाएर भेटायो । टस हारेर पहिला ब्याटिङ गरेको मलेशिया ४३ ओभर एक बलमा ९० रनमा अलआउट भएको थियो ।

नेपालले समूह ‘ए’ मा सबै खेल जितेर सेमिफाइनल खेलेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई तीन सय ७० रनले हराएको थियो ।


समूह ‘ए’ बाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । उसले समूह ‘बी’ मा शीर्ष स्थानमा रहदै सेमिफाइनल खेलेको हङकङलाई हरायो । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार बिहान हुनेछ । नेपाल यो प्रतियोगिताको साविक विजेता टोली पनि हो ।

