

काठमाडौं – लिभरपुलका पोर्चुगाली फरवार्ड डियगो जोटा २८ वर्षको उमेरमा दुर्घटनामा परि निधन भएको छ।

उत्तरी स्पेनको सडकमा उनको लम्बोर्गिनी दुर्घटनाग्रस्त भएर सडकबाट बाहिरिएपछि उनको निधन भएको हो।

दुर्घटना जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ। लम्बोर्गिनीको टायर ओभरटेक गर्ने क्रममा फुटेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।


गाडी स्पेनको उत्तर–पश्चिममा रहेको सामोरा नजिकैको सेर्नाडिला भन्ने स्थानमा ए–५२ राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो गाडी सडकबाट बाहिरिएर पल्टिएपछि आगलागी भएको थियो।
लिभरपुल एफसीले एक विज्ञप्तिमा भनेको छ, क्लब यो दुर्घटनाले ‘विनाशकारी’ महसुस गरेको छ र डियगोका परिवार, साथी तथा फ्यानले ‘अकल्पनीय क्षति’ भोग्नुपरेको उल्लेख गरेको छ।
जोटाले भर्खरै आफ्नो बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनी १६ वर्षदेखि सँगै थिए र उनीहरूको तीन सन्तान छन्। उनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा विवाहको भिडियो साझा गर्दै रुटेकी पति हुन पाएकोमा आफूलाई संसारकै सबैभन्दा भाग्यमानी मानिस भनेका थिए।
यो जोडीले जुन २२ मा जोटाको गृह नगर पोर्टोमा विवाह गरेका थिए। रुटेले हिजो सामाजिक सञ्जालमा विवाहका थप तस्वीरहरू साझा गर्दै लेखेकी थिइन्स् ´मेरो सपना पूरा भयो।` जोटाले कमेन्ट गर्दै लेखेका थिएस् ´म नै भाग्यमानी हुँ।`
लम्बोर्गिनी दुर्घटना स्पेनको सामोरा प्रान्तको ए–५२ सडकमा भएको हो। यो सडक उत्तर पोर्चुगलबाट सान्तान्देर र बिल्वाओ बन्दरगाहतर्फ जाने वा फ्रान्सतर्फ जाने मुख्य मार्ग हो।
कास्तिल्ला एण्ड लिओन क्षेत्रका आपतकालीन सेवाले बिहीबार बिहान १२:३५ बजे दुर्घटना र दुई जनाको मृत्यु पुष्टि गरेका थिए। डियगो र आन्द्रेको मृत्यु पोर्चुगाली फुटबल महासंघले पनि पुष्टि गरेको छ।
जोटा लिभरपुलको २०२४/२५ सिजनको प्रिमियर लिग विजेता टोलीका सदस्य थिए, जसमा उनले २६ खेलमा ६ गोल गरेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए र गत महिना स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै नेशन्स लिग जित्न मद्दत गरेका थिए।

