Aamsanchar

अनेरास्ववियु मोरङकाे विवाद छताछुल्ल : संस्थापन र विद्यादेवी भण्डारी पक्षकाे आ-आफ्नै संयोजक

Author Image
सोमवार, भदौ ९, २०८२

विराटनगर – नेकपा एमालेको आन्तरिक विवाद भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा देखिएको छ । विवादका कारण संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै व्यक्तिलाई संयोजक तोकेका छन् ।

भदौ ७ गते अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो ।

अखिल मोरङको संयोजकमा वीरेन्द्र घिमिरे थियो । अखिलमा ३२ वर्षे उमेर हद लागेपछि जिल्ला कमिटी बैठकमा घिमिरेसँग नेताहरुले उमेर खुल्ने कागजात माग गरेका थिए ।

विवाद भएपछि उनले बैठक छाडेका थिए । घिमिरे बाहेकको जिल्लाका पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको थियो । लगतै घिमिरेले ओझालाई संयोजक तोकेका थिए । घिमिरे नेकपा एमाले संस्थापन पक्षका हुन् ।

एमाले अखिल मोरङका नेता नविन पहाडीका अनुसार जिल्ला कमिटीको पदाधिकारी बैठकले कन्दङ्वा संयोजक तोकेको हो ।

पहिलो बैठकमा विवाद भएपछि दोस्रो बैठक बसेको थियो । अखिल स्रोतका अनुसार घिमिरेले दोस्रो बैठकको उपस्थीतिमा हस्ताक्षर गरेका छन् । तर निर्णयमा हस्ताक्षर गरेका छैनन । बैठक छाडेर गएपछि घिमिरेले छुट्टै संयोजक घोषणा गरेको इतर पक्षको आरोप छ ।

घिमिरे भने संयोजकको जिम्मेवारीमा रहेका कारण आफ्नो अधिकार प्रयोग गरेर ओझालाई जिम्मेवारी दिएको बताउँछन् । ओझा सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापति हुन् ।

गत फागुनमा तत्कालीन जिल्ला सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर