Aamsanchar

उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारलाई गगन थापाको आग्रह

Author Image
बिहिवार, भदौ १२, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग बुधबार भेटवार्ता गर्दै उनले आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी तत्काल गर्नुपर्ने बताए ।

बजेटको अभावका कुराहरू बाहिर आए पनि यस्तो अवस्था नरहेको उनको तर्क रहेको छ ।

थापाका अनुसार चालु आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘उख’ कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने शीर्षकमा २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले बताए ।

एउटै निर्णय होस्

थापाले कृषिमन्त्रीसँग किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए थिए ।

किसानहरूलाई पटक–पटक सडकमा आउने अवस्था सिर्जना गर्नु नहुने बताउँदै उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु–आयामिक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याएको बताएका छन् ।

विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन उनले आग्रह गरेका छन् ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर