Aamsanchar

राप्रपा झापाको अध्यक्षमा पुनः ओझा चयन

Author Image
शनिवार, भदौ १४, २०८२

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको नेतृत्व फेरि पनि केशवप्रसाद ओझाकै हातमा गएको छ। जिल्लाको आज हुने अधिवेशनले ओझालाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष घोषणा गर्ने तयारी गरेको हो।
निर्वाचन समितिका संयोजक टंक कटवालका अनुसार अध्यक्ष पदका लागि ओझाबाहेक अन्य कसैले मनोनयन दर्ता नगरेपछि उनलाई निर्विरोध चयन गरिएको हो। हिजो अन्तिम नामावली सार्वजनिक भइसकेको र आजको अधिवेशनले ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति गठन गर्नेछ। साथै अध्यक्षले थप १२ सदस्य मनोनयन गर्ने व्यवस्था रहनेछ।
दुई पटक जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका ओझा यसअघि पनि पहिलो कार्यकालमा अध्यक्ष भइसकेका थिए। विधानअनुसार एउटै पदमा अधिकतम दुई कार्यकाल मात्र रहन सकिने व्यवस्था छ।
बिर्तामोडस्थित अतिथि सदनमा बिहान ११ः३० बजे हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्ने कार्यक्रम छ। सो अवसरमा कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरूको उपस्थिति रहने जनाइएको छ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर