

वीरगन्ज – गृहमन्त्री रमेश लेखकले नेपालको भूभाग लिपुलेकलाई भारत र चीनले द्विपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी ओलीले जनाएको आपत्ति सही भएको बताएका छन्। सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीको अडान सही भएको बताएका हुन्।


उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भनेर भन्दा कुनै छिमेकी मुलुकसँगको सम्बन्ध नबिग्रिने बताए। उनले भने, ‘नेपालको भूमि हाम्रो हो भनेर भन्दा कसैले चित्त दुखाउन जरुरी छैन। यसो भन्दा कुनै पनि छिमेकी देशसँग नेपालको सम्बन्ध बिग्रिँदैन।’

गृहमन्त्री लेखकले नेपालको नाका हुँदै पाकिस्तानका आतंकवादी भारतमा छिरेको हल्लामा सत्यता नभएको पनि दाबी गरे। उनले भने, ‘केही दिनअघि पाकिस्तानका ३ आतंकवादी नेपाल आएर भारतमा प्रवेश गरेको जुन हल्ला चलाइयो, त्यो सत्य होइन। उनीहरू मलेसिया गएको देखिन्छ।’
छिमेकी मुलुक भारत र चीन विरुद्धको गतिविधिका लागि नेपालीको भूमि प्रयोग हुन नदिने उनले प्रस्ट पारे। गृहमन्त्री लेखकले अहिलेको संविधान खतरामा रहेकाले त्यसको रक्षामा सरकार लागेको बताए। संविधान र लोकतन्त्रलाई उल्ट्याएर देशमा राजा वा राजतन्त्र फर्काउने गतिविधि बेलाबेलामा भइरहेकाले संविधान र लोकतन्त्र खतरामा रहेको उनले बताए।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले गठबन्धनको सरकारको अहिलेसम्मको १३ महिने कार्यकाल सफल रहेको दाबीपनि गरे। सरकारको स्थिरताको मुख्य एजेन्डा बनाएर दुई ठूला दलको सत्ता समीकरण बनेको भन्दै उनले भने, ‘सरकारले स्थिरता पाएको छ, विगतका वर्षका तुलनामा अर्थतन्त्र लयमा फर्किन थालेको छ,मुलुकका शान्ति सुरक्षाको अवस्था राम्रो छ। यी सबैले सरकार सफल भएको पुष्टि हुन्छ।’

