

झापा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै झापाका दुई मतदानस्थल असहज परिस्थितिका कारण सारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएको बताए । उनका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वाथ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् ।

´नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छू, उनले भने, ´चुनावका बेला तीन–चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ, यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो ।`


उनले धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङशालामा सारिएको बताए ।
जिल्लामा विगतमै रहेका २८५ मतदानस्थल नै कायम रहने उनले बताए । जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र भने थपिने उनको भनाइ छ । कार्यालय प्रमुख नेपालका अनुसार एउटा मतदान केन्द्रमा एक हजार मतदाता हुनेछन् ।

