Aamsanchar

पाकिस्तानका पूर्वप्रधानमन्त्रीको सरकारमा सल्लाहकार रहेका अकबरमाथि आक्रमण, नाक र बंगाारा भाँचियो

Author Image
शुक्रवार, पौष ११, २०८२

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सरकारमा सल्लाहकार रहेका मिर्जा शहजाद अकबरमाथि बेलायतमा आक्रमण गरिएको छ । आक्रमणका क्रममा उनको नाक र बंगाारा भाँचिएको छ । उनी क्याम्ब्रिज सहरस्थित आफ्नै घरमा रहेका बेला आक्रमण गरिएको हो ।

पाकिस्तानबाट भागेपछि मिर्जामाथि यसअघि पनि आक्रमण गरिएको थियो । उनले यो आक्रमणका निम्ति पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई जिम्मेवार ठहर्‍याएका छन् ।

मिर्जामाथिको आक्रमणको कारण उनको एक भनाइलाई मानिएको छ । उनले केही समयअघि असिम मुनिरलाई ‘कायर’ भनेका थिए ।

आक्रमणमा उनको अनुहारमा गम्भीर चोट लागेको छ । नाक र बंगारा ‘फ््रयाक्चर’ भएको छ । आक्रमणलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी छ ।

मिर्जामाथिको आक्रमणका बारेमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले जानकारी सेयर गरेको छ । आक्रमणकारी घरभित्र पसेर उनको अनुहारमा बारम्बार मुक्का प्रहार गरेका थिए । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मिर्जाले मुनिरले घरभित्रै हमला गराए पनि आफूमा डर पैदा गर्न नसकेको बताएका छन् । उनले भने, “आक्रमणकारीले मेरो नाक र बंगारा भाँचिदिएको छ ।”

उनले अगाडि भने, “बिहान करिब ८ बजे ढोकाको घण्टी बजेपछि म ब्युँझिएँ । मैले ढोका खोलेँ र एक गोरा मानिसले मलाई धेरै मिनेटसम्म मुक्का प्रहार गर्‍यो । मैले प्रतिकार गरेँ र ऊ भाग्यो । त्यसपछि मेरो परिवार ब्युँझिएर मलाई हेर्न तल आए ।”

हालै ‘भाइरल’ भाषणमा उनले मुनिरको नाम नलिई निसाना साधेका थिए । उनले रक्षा प्रमुखले ‘विगत साढे तीन वर्षदेखि डर र त्रास’ फैलाएर पाकिस्तान चलाउने प्रयास गरेको तर अन्ततः उनी आफैँ डरमा बाँच्न थालेको बताएका थिए ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर