

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई सन् २०२६ टी–२० विश्वकप खेल्न भारत जाने–नजानेबारे अन्तिम निर्णय लिन थप एक दिनको समय दिएको छ।

यदि बंगलादेशले सुरक्षा कारण देखाउँदै भारत जान अस्वीकार गरेमा, टीम र्याङ्किङको आधारमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराइने निर्णय आईसीसी बोर्डले गरेको छ। बुधबार बसेको आईसीसी बोर्ड बैठकमा अधिकांश सदस्य राष्ट्रहरूले बंगलादेशको स्थानमा वैकल्पिक टोली राख्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन्।
आइसीसीका १५ निर्देशक सहभागी बैठकमा पाकिस्तानबाहेक सबै सदस्य राष्ट्रहरूले आईसीसीको निर्णयलाई समर्थन गरेका थिए।

पाकिस्तानले मात्र बीसीबीको अडानको पक्षमा मतदान गरेको जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आईसीसी र अन्य बोर्डहरूलाई पत्र लेख्दै बंगलादेशको समर्थन गर्न अनुरोध गरेको थियो।
बैठकमा आईसीसी अध्यक्ष जय शाहसहित सबै पूर्ण सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए। साथै आईसीसीका शीर्ष पदाधिकारी र सुरक्षा इकाइका प्रमुख पनि बैठकमा उपस्थित थिए।
सुरक्षा इकाईका पदाधिकारीले गत साता ढाकामा पुगेर बंगलादेश बोर्डसँग प्रत्यक्ष छलफल समेत गरेको थियो।
बैठकपछि जारी विज्ञप्तिमा आईसीसीले स्वतन्त्र सुरक्षा मूल्यांकनसहित सबै प्रतिवेदनले भारतका कुनै पनि खेलस्थलमा बंगलादेशी टोली, अधिकारी, सञ्चारकर्मी वा समर्थकलाई कुनै सुरक्षा खतरा नरहेको निष्कर्ष निकालेको उल्लेख छ। आईसीसीले प्रतियोगिता नजिकिँदै गर्दा खेल तालिका वा स्थल परिवर्तन गर्नु व्यवहारिक नहुने उल्लेख गर्दै यसले भविष्यका प्रतियोगितामा गलत नजिर बस्न सक्ने चेतावनी पनि दिएको छ।
बीसीबीले आईपीएल २०२६ मा मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सबाट रिलिज गरिनुलाई कारण देखाउँदै आफ्नो अडान परिवर्तन नगरेको आईसीसीको भनाइ छ। आईसीसीले उक्त विषय घरेलु लिगसँग सम्बन्धित व्यक्तिगत मामिला भएको र यसलाई विश्वकपको सुरक्षा व्यवस्थासँग जोड्नु उपयुक्त नहुने स्पष्ट पारेको छ।
बंगलादेशले जनवरी ४ मा सरकारसाग समन्वय गर्दै भारत नजाने जानकारी आईसीसीलाई दिएको थियो। त्यसयता टोलीले भारतको सट्टा श्रीलंकामा खेल्नुपर्ने माग गर्दै आएको थियो।
बीसीबीले समूह परिवर्तनको प्रस्ताव पनि राखेको थियो, तर आईसीसीले त्यसलाई अस्वीकार गरिसकेको छ।
टी–२० विश्वकप २०२६ अन्तर्गत बंगलादेश समूह सी मा रहेको छ । टोलीका खेलहरू फेब्रुअरी ७, ९ र १४ मा कोलकातामा तथा फेब्रुअरी १७ मा नेपालविरूद्ध मुम्बईमा खेलिने तालिका छ।


