Aamsanchar

बिर्तामोडमा वडा पुनर्संरचनाको बहसः वडा नम्बर २ दुई भागमा विभाजन प्रस्ताव

Author Image
बुधवार, माघ १४, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाको सबैभन्दा ठूलो वडा मानिँदै आएको वडा नम्बर २ लाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताव नगरसभामा औपचारिक रूपमा अघि बढाइएको छ।

नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन समापनका क्रममा आयोजित खुलासत्रमा वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्दै हालको वडा संरचना व्यवस्थापनका हिसाबले जटिल बन्दै गएको बताए।

साविक चारपाने गाविसका २ देखि ९ नम्बर वडासम्म समेटिएको हालको वडा नम्बर २ क्षेत्रफल, जनसंख्या र पूर्वाधारका दृष्टिले अत्यन्तै ठूलो भएकाले सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा समस्या देखिएको वडाध्यक्ष पौडेलको भनाइ थियो।

उनका अनुसार साविक वडा नम्बर २, ३, ४ र ५ लाई यथावत् वडा नम्बर २ कायम गरी साविक वडा नम्बर ६, ७, ८ र ९ लाई छुट्टै वडा नम्बर ११ का रूपमा गठन गर्ने प्रस्ताव सभामा राखिएको हो।

वडाध्यक्ष पौडेलद्वारा प्रस्तुत उक्त विशेष प्रस्ताव नगरसभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन्। प्रस्ताव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा गर्दै सरकारको सम्बन्धित निकायमा पेश गरिने उनले स्पष्ट पारिन्।

नगर प्रमुख प्रसाईले नगरपालिका गठनका बेला भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नम्बर २ र वडा नम्बर १० अत्यधिक ठूलो बनेको उल्लेख गर्दै समयानुकूल पुनर्संरचना आवश्यक रहेको बताइन्।

Views: 73

प्रतिक्रिया (०)