Aamsanchar

इलाममा चियाको पहिलो टिपाइ सुरु

Author Image
बिहिवार, फागुन २८, २०८२

इलाम-  इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु भएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ लाई उच्च गुणस्तरको चियाका रूपमा लिइने गरिएको छ । फागुन र चैतमा उत्पादन भएको पहिलो टिपाइको चिया उद्योगी र किसानका लागि बर्सैभरको आम्दानीको स्रोत जस्तै बन्ने गरेको छ ।

“यसमा सुरक्षित ढङ्गले टिपिन्छ । यसबाट उच्च गुणस्तरको चिया बनाइन्छ । यो तेस्रो मुलुक निर्यातका लागि निकै महìवपूर्ण छ,” इलामका चिया व्यवसायी शरद सुब्बाले भन्नुभयो, “पहिलो टिपाइ इलामको सोयाक बगानमा सुरु भएको छ । पहिलो टिपाइमा करिब अढाई सय किलो चिया आयो ।”

उहाँले इलामको दक्षिणी क्षेत्र सोयाक, चिलिमकोटलगायतका क्षेत्रमा चिया टिपाइ सुरु भएको जनाउनुभयो । सुब्बाले यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै कायम गरिएको जानकारी दिनुभयो । इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चाल रहनुभएका सुब्बाले यस वर्ष पनि गत वर्षकै प्रतिकिलो ६५ देखि प्रतिकिलो एक हजार पाँच सय रुपियाँ दिने तय गरिएको जानकारी दिनुभयो ।

यस वर्षको कात्तिकयता वर्षा नभएकाले इलामको लेकाली क्षेत्रमा भने चैत पहिलो सातातिर मात्र चिया टिप्न सुरु हुने अवस्था रहेको किसान बताउँछन् ।

उता पाँचथरमा रहेको कञ्चनजङ्घा चिया कारखानाले पनि पहिलो टिपाइको चिया प्रशोधन सुरु गरेको छ । व्यवसायीले तयारी गरेको पहिलो टिपाइको चिया विशेष गरी जर्मनी, रुस, अमेरिका, युरोपका विभिन्न देशसहितका तेस्रो मुलुक निर्यात हुने गरेको छ । इलाममा गोल्डन, गोल्र्डन पल, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिनलगायतका फरक फरक नाम र स्वादका चिया उत्पादन तथा निर्यात हुने गरेको छ ।

चिया चालु आर्थिक वर्ष २०८२र८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको मेची भन्सार कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार आव २०८२र८३ मा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपियाँको चिया निर्यात भएको छ ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर