Aamsanchar

भ्रामक भिडियो फैलाउने एक नेपाली यूएईमा पक्राउ

Author Image
शनिवार, फागुन ३०, २०८२

संयुक्त अरब इमिरेट्स (यूएई)मा बसेर सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली पक्राउ परेका छन्। यूएईका महान्यायाधिवक्ता डा। हमाद सैफ अल शाम्सीले नेपालीसहितका १० जनालाई पक्राउ गर्न आदेश दिएका छन्।

ती नेपालीको परिचय खुलाइएको छैन। ‘तत्काल सुनुवाइ’ प्रक्रिया अघि बढाइएको छ। यूएईबाट सञ्चालित खालिज टाइम्सका अनुसार पक्राउ पर्नेमा नेपाल, इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बङ्गलादेश र क्यामरुनका एकरएक जना तथा भारतका दुई जना नागरिक रहेका छन्।

सार्वजनिक अभियोजनले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा आरोपितले यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेका वास्तविक फुटेजहरू सार्वजनिक गरेको पाइएको छ। यसका साथै एआईको दुरुपयोग गरी तयार पारिएका नक्कली भिडिओमार्फत यूएईका प्रमुख स्थलहरूमा विस्फोट भएको, आक्रमण भएको र आगलागी भएको भन्दै झुटो प्रचार गरिएको थियो।

त्यहाँको प्रचलित कानूनअनुसार यस्ता काम गरेमा कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिरहम जरिवाना हुने उल्लेख छ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर