Aamsanchar

सन्दीप लामिछानेको कप्तानीमा वाग्मती प्रदेशको टोली घोषणा

Author Image
बुधवार, चैत ४, २०८२

काठमाडौं – लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा शनिबार (चैत ७)बाट आयोजना हुने प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको वाग्मती प्रदेशको टोली घोषणा गरिएको छ ।

प्रतियोगिता यो सिजनमा काठमाडौंको कीर्तिपुर रंगशाला र माथिल्लो मूलपानी मैदानका साथै पर्सा र जनकपुरमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । लामिछानेले वाग्मतीको छनोट भने खेलेका थिएनन् । जय ट्रफीमा पनि उनैले वाग्मती प्रदेशको कप्तानी गरेका थिए ।

वाग्मती प्रदेश क्रिकेट संघका सचिव प्रसन्न शाक्यले जारी गरेको १५ सदस्यीय टोलीमा उपकप्तानमा ईशान पाण्डे छन् । पाण्डेले जय ट्रफीमा प्रभावकारी ब्याटिङ गरेका थिए । यस्तै, प्रदेश छनोटमा उत्कृष्ट खेलाडी बन्न सफल विवेक रानामगर पनि समेटिएका छन् ।

अन्य खेलाडीहरूमा, आशुतोष घिरैया, उत्तम थापामगर, सिभम तिवारी, विवेक राना मगर, दयानन्द मण्डल, रिजन ढकाल, सुवास खत्री, सोनु देवकोटा, सचिन लेखक, रिन्जिग लामा, पवन बहादुर थापा, प्रतिस जिशी, शुभ कंसाकार रहेका छन् ।

त्यसैगरी, वैकल्पिक खेलाडीहरूमा रित गौतम, सूर्य तामाङ, दीपेश श्रेष्ठ, आदिल खान र अभिनव बस्याल रहेका छन् ।

टोलीको प्रशिक्षकमा कलाम अलि र रिकेश लामा रहेका छन् भने रमन श्रेष्ठ टिम म्यानेजर रहेका छन् ।

पीएम कपमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब गरी तीन विभागीय र सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेशमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको नाम छ ।

प्रतियोगिता आगामी वैशाख ४ गते सम्पन्न हुनेछ । २८ दिनसम्म चल्ने प्रतियोगितामा ४६ खेल हुनेछन् । लिग चरणमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर