

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’को दाहिने घुँडाको सफल शल्यक्रिया भएको छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको टोलीले ‘साम्बा’को दाहिने घुँडाको शल्यक्रिया गरेका हुन्। जुन कुरा साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

कतारको एस्पेटारमा घुँडाको शल्यक्रिया गर्न चाहेको भन्दै केही समयअघि साम्बाले सामाजिक सञ्जाल मार्फत आफूलाई आर्थिक सहयोगको अपिल गरेकी थिइन्। मध्यपूर्व क्षेत्रमा रहेको तनावका कारण सावित्रा भण्डारी ‘साम्बाुको कतारमा रहेको एस्पेटारमा शल्यक्रिया गर्ने चाहना अधुरो रहेको हो। उनले यो कुरा आफ्नो पोस्टमा स्पष्ट उल्लेख गरेकी छन् ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटारमा पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्याण्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ।’
उनले पोस्टमार्फत नै शल्यक्रिया भइसकेको र बिहिबारबाट आफ्नो रिहाबको कामहरु सुरु हुने जानकारी दिएकी छिन्। साथै अवस्था सामान्य रहेपछि रिहाब एस्पेटारमा निरन्तरता दिने उनको भनाई छ ।

कठिन समयमा आफूलाई साथ दिएको भन्दै सम्पूर्ण समर्थकहरुमा उनले धन्यवाद व्यक्त गरेकी छन्। ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने बलिङटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुनेछ । मेरो क्लब वेलिङटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनु भएको छ । आम समर्थक जसले मेरो लागि सहयोग र माया दिनुभयो त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद।’
सावित्रा गत पुसमा अस्ट्रेलियन लिग खेल्ने क्रममा घुँडाको चोट बोकेकी थिइन्। उनलाई यसअघि पनि वि सं २०७८ सालमा एन्फा महिला लिग खेल्ने क्रममा पहिलोपटक दायाँ घोडाको मांसपेशी च्यातिएको थियो अहिले त्यही ठाउँमा चोट बल्झिएको थियो।


