नेपालमा प्रजातन्त्रको पुन : स्थापना भएको चार दशक पुग्न लागेको छ । राज्यको इतिहासा यो ज्यादै लामो अवधि होइन तर नेपाली जनताले अनुभूति गर्न सक्ने गरी विकासको आयाममा परिवर्तन नहुनुले नेपाली राजनीतिक प्रणाली र नेतृत्वमाथि गम्भीर प्रश्न उठिरहेको थियो ।
हाम्रो राजनीतिक आकाश धेरैपटक बदलिएको छ, तर उज्यालो भने स्थिर हुन सकेको छैन। २०४६ सालको परिवर्तनले ल्याएको बहुदलीय व्यवस्था विस्तारै आफ्नै भारले थिचिन थाल्यो । नेताहरू समयसँगै परिपक्व होइन, जर्जर बन्दै गए; आदर्शहरू अवसरवादमा गल्दै गए। राज्यका संस्थाहरू दलगत प्रभावको छायाँमा परे । देशभन्दा दल दलभन्दा गुट र गिरोहबाट राज्य संयन्त्र- लाई कज्याउने काम भयो । शासन जनताको सेवाभन्दा शक्ति सन्तुलनको खेलमा सीमित भयो। राजनीतिक प्रणाली र ऐन नियम उचित भएपनि नेतृत्वमा निहित स्वार्थहरू अङ्कुरित भए । सङ्कीर्णता असारको बन्सोजस्तै मौलायो ।परिणामतः नागरिकको भरोसा क्षीण हुँदै गयो, र भविष्य खोज्दै युवाहरू देशबाहिर उड्न थाले । युवाहरूमा देशप्रतिको भरोसा पूर्ण रुपमा समाप्त भयो । परिवार खण्डित विघटन हुन थाल्यो ।
यही निराशाको कालो बादलमा नयाँ आकाङ्क्षा र आशाको प्रकाशको खोजी गर्दै नागरिकहरूले मतदान मार्फत् विकल्प खोजिरहे । सामान्य विकल्पबाट राजनीतिक क्षितिज उज्यालो हुन सकेन । यसै पृष्ठभूमिमा नेपालको संसदीय राजनीतिमा बालेन्द्र साह / बालेनको उदय भएको हो । राजनीतिक वृत्तमा यदाकदा कुनै पात्र , एउटा प्रतीकको रूपमा परिचित हुन्छ बालेन त्यही प्रतीकको एक रूप हुन्। उनको उदय केवल व्यक्तिगत उपलब्धि होइन; यो दीर्घकालीन असन्तोषको सघन अभिव्यक्ति हो, जसले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ।बालेनको उमेरमा उत्साह छ, तर त्यो केवल आवेग होइन – पुरानो ढाँचाप्रतिको अस्वीकार पनि हो। छोटो राजनीतिक यात्राले अनुभवको अभाव देखाउन सक्छ तर त्यसले एउटा पैँतिस वर्षे युवाको सकारात्मक महत्वाकांक्षाको प्रतिनिधित्व गर्न सक्छ । दागहीन सुरुवातको सम्भावना पनि वहन गर्न सक्छ । यहाँ जनताले अनुभवभन्दा इमानदारी र परिणामप्रतिको दृढतालाई रोजेको देखिन्छ । सिद्धान्तको जार्गनभन्दा सुशासन र द्रुत विकाशको मोहलाई खोजेको देखिन्छ ।
उनको पृष्ठभूमि, मधेसी मूलसँग जोडिएको पहिचानले अझ अर्को सन्देश दिन्छ—नेपालको नेतृत्व अब सीमित वृत्तभित्र कैद रहन सक्दैन। शासन सत्तामा देशको सबै भूगोल र संस्कृति अटाउन सक्नुपर्छ । क्षमता र संभावना एकल नश्लीय समूहको घेराभन्दा बाहिर पनि हुन सक्छ। बाइसौँ शताब्दीको संघारमा एकलव्य र कर्णलाई तिरस्कार गरेजस्तो वंशीय र सांस्कृतिक निषेध किमार्थ संभव हुँदैन । समावेशिता अब नारा होइन, व्यवहारको माग बनेको छ। यसले विभाजन होइन, साझा स्वामित्वको सौन्दर्य र संभावनालाई सबल र सफल बनाउनुपर्छ । यसमा बालेन साह अब्बल बने भने शासन सत्तामा निमग्न रहेको वर्चश्ववादी पात्र र समूहको अपरिहार्य विकलपको द्वार खुल्ला हुन्छ ।
सबैभन्दा अर्थपूर्ण पक्ष भनेको पुराना शक्ति केन्द्रसँगको नयाँ शक्ति र व्यक्तिको चुनौतीपूर्ण प्रत्यक्ष टक्कर हो। यो टक्कर केवल व्यक्तिको साहस होइन, एउटा थकित प्रणालीमाथि प्रश्नचिह्न हो। हम ही कुछ है भन्ने जब्बर खेलाडीहरूलाई हाँक र विजय चानचुने परिघटना होइन । जब नयाँ आवाजले पुरानो संरचनालाई चुनौती दिन्छ।
नयाँ पात्रलाई थला पार्ने गरी तयार गरेका असत्यका अग्ला व्यूहहरू कसरी विधिसम्मत रुपमा भञ्जन हुन्छन् भन्ने विषयमा अनेक शोध हुने गरी आएको परिणामलाई चुनौती दिनु आत्मरति मात्र हो । आधारशीला जेजस्तो भएपनि हाम्रो राजनीतिक उद्यानमा अहिले एउटा संभावनाको सशक्त बीजाधान भएको छ ।तर, सत्ता राजनीतिमा यथार्थको कठोर पहाड निकै कालो देखिन्छ । नेपालको सरकार अस्थिर हुनुको मूल कारण सधैं बाह्य चुनौती मात्र रहेन । दलभित्रको द्वन्द्व, गुटको संरक्षण , इतर पक्षलाई निषेध गर्ने प्रवृत्ति , जेतृत्वको उन्माद ,अहंकार र शक्ति–संघर्षले राज्यलाई बारम्बार अस्थिर बनाएको छ। सरकार ढल्नु यहाँ असामान्य होइन, बरु एक प्रकारको परम्परा जस्तै बनेको छ । वर्तमान संसद गणितीय रुपमा ज्यादै सबल छ। २०४६ पछिको खुला परिवेशमा हुर्किएका , आधुनिक शिक्षा लिएका ,वैश्वीकरण र सूचना प्रविधिसँग परिचित एवं राजनीतिक विकृतिको दुर्गन्धसँग परिचित नव युवाहरूले पुराना दलको नियति दोहोर्याउँदैनन् भन्ने झिनो आशा छ ।
यसपटक प्रश्न केवल नेतृत्वको होइन, समग्र राजनीतिक संस्कृतिको हो। विशेषतः संसदमा पुगेका शिक्षित युवा प्रतिनिधिहरूको भूमिका निर्णायक छ। उनीहरू पुरानो खेल दोहोर्याउने पात्र बन्ने कि नयाँ दिशा दिने शक्ति ; यो छनोट उनीहरूमै निर्भर छ । देशको भविष्यलाई दलगत समीकरणको सस्तो खेलमा साटासाट गर्ने दुर्वृत्तिलाई
सधैँका लागि निस्तेज र निर्मूल पार्नुपर्छ ।बालेनप्रतिको समर्थनले एउटा स्पष्ट सङ्केत दिएको छ
– नेपाली मतदाता अब जात, क्षेत्र र दलको साँघुरो घेराभन्दा माथि उठ्न तयार छन् । मतदाताहरू सधैँ दल निर्देशित हुँदैनन् । सूचना र प्रविधिको प्रयोगले उनीहरूको चेतनाको दायरा निकै विकसित भएको छ । उनीहरू परिणाम चाहन्छन्, सुशासन चाहन्छन्, र जिम्मेवार नेतृत्वको अपेक्षा राख्छन् । झापाजस्तो सचेत मतदाता भएको क्षेत्रमा रैथाने र क्षेत्रमुखी विकास गरेर दमकलाई उन्नत सहर बनाएका पूर्व प्रधानमन्त्रीलाई विश्राम दिँदै अनुपम विश्वासबाट मतदाताले नयाँ पात्र रोजेका हुन् । अब क्षेत्रको विकास मात्र होइन राष्ट्रलाई नै सबल बनाउने चाहबाट दमककको मतदाताले विकल्प चयन गरेका हुन सक्छन् । राष्ट्रियता र स्वाभिमानलाई अर्को आयामबाट उठान गर्नुपर्छ भन्ने जनलहरले पनि सफलता हासिल भएको छ । तर विजयी बन्नुभन्दा सफलताई स्थिर राख्दै नागरिकको आशालाई अघि बढाउने कार्यमा मा नेतृत्व सजग हुनुपर्दछ ।प्रधानमन्त्रीको आसनमा पुगेका बालेन केवल एउटा सम्भावना हुन् – न त सम्पूर्ण समाधान ; न त अन्तिम उत्तर। तर यदि यो सम्भावनालाई गम्भीरतापूर्वक लिइयो भने, यसले नयाँ राजनीतिक मानकको ढोका खोल्न सक्छ । पुर्खौली भूमि महोत्तरी भएका मधेसी मूलका बालेन राजधानीमा हुर्किएका शिक्षित युवा हुन् । उनी देशप्रति कति संवेदनशील छन् भन्ने परीक्षा आजैबाट श्रीगणेश भएको छ । निर्वाचनको पृष्ठभूमि , समकालीन विश्वमा व्याप्त द्वन्द्व, संवेदनशील भूअवस्थिति , शक्तिकेन्द्रको स्वार्थ, बृहत्तम जन अपेक्षा ,स्वच्छन्द नेपाली मनोविज्ञान आदि चुनौतीलाई चिर्दै
आज गठन भएको सरकार पूर्ण कार्यकाल टिकाउन सके भने नयाँ प्रधानमन्त्री युग नायक बन्ने छन् । यसको पहिलो सर्त आफ्नो दलभित्रको कसिलो एकता हो । बाह्य शक्तिकेन्द्रको स्वार्थ र कुटिलतालाई राष्ट्रिय हित हुनेगरी व्यवस्थापन गरेर स्थिर सरकार सञ्चालन कठिन संभावना हो ।
अन्ततः, परिवर्तन व्यक्तिमा होइन, प्रवृत्तिमा , नीतिमा होइन नेतृत्वको कुशलता र नियतमा टिक्छ । यदि यो प्रवृत्ति जोगाइयो भन – नेपालको राजनीति पनि कहिल्यै नथाक्ने आशामा फेरि उभिन सक्छ । यसबाट नेपाली राजनीतिक इतिहासमा अनेक मानक स्थापित हुने छन् ।



