

काठमाडौं – नेपालले साफ यू–२० च्याम्पियनसिपमा आज (चैत १३) माल्दिभ्ससँग खेल्दै छ । खेलमा नेपाल समूह ‘ए’ बाट विजेता बन्दै शीर्ष टोलीको रूपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले पहिलो खेलमा भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

माल्दिभ्स भने जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । दुई खेल खेलेको घरेलु टोलीले समान एक बराबरी र हारसहित तालिकामा एक अंक जोडेको छ । खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ४ः३० बजे हुनेछ ।
आजै प्रतियोगिताअन्तर्गत हुने दोस्रो खेलमा भुटान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् । खेलमा श्रीलंका सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा छ । दुई खेल खेलेको श्रीलंका एक जित र हारसहित तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । भुटान भने जितको खाता खोल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । एक अंकका साथ तालिकाको पुछारमा रहेको भुटानले पहिलो खेलमा नेपालसँग २–१ हार व्यहोर्दा दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी गरेको थियो । यी दुईबीचको खेल राष्ट्रिय फुटबल रंगशालामा राति ९:१५ बजे हुनेछ ।



