

काठमाडौं –शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा उनको २४ सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि मात्र शल्यक्रिया गरिने रोस्यालले जानकारी दिए । उनका अनुसार, शल्यक्रिया गर्नैपर्ने अवस्था भए पनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रियाको निर्णय लिइएको छैन ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा उपचाररत छन् । आइतबार पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।
बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालले जनाएको छ । उनको बान्ता रोकिए पनि पखाला भने नरोकिएको अस्पतालका सहायक प्रवक्ता रोस्याराले भने ।


