देशमा भएका ठुला ठुला क्रान्ति र परिवर्तन पछि राजनीतिक परिवर्तनको महसुस नेपाली जनताले पटक पटक गरेका छन् तर जतिसुकै ठुलो राजनीतिक परिवर्तनले पनि छुन र हल्लाउन नसकेको क्षेत्र हो नेपालको कर्मचारीतन्त्र । धेरै पटकका परिवर्तनले संविधान र कानुनमा व्यापक सुधार र परिवर्तन ल्यायो तर दैनिक सरकारी सेवा प्राप्त गर्ने जनताको चाहना न्यूनतम रुपमा समेत पूरा हुन नसक्दा आफ्नो काम नहुनुमा कर्मचारीतन्त्र नै दोषी हो भन्ने ठम्याई आम जनता व्याप्त छ । कर्मचारीतन्त्रको व्यापक सुधार गरी सामाजिकीकरण सँगै प्रशासनिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सक्षम र उच्च स्तरको नैतिकवान एवं क्षमतावान प्रशासनको पर्खाइमा अझै पनि ठुलो जमात बसिरहेको छ ।

पेशागत निष्ठा, व्यवसायिकता र नैतिकता नै कर्मचारीतन्त्रको मूल मर्म हो भन्ने शपथ केवल कागजी दस्तावेजमा मात्र सिमित रहँदा आजको दिनसम्म पनि यस पेशा प्रति जनता निराश भएको यथार्थ जगजाहेर छ । राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र हिजोदेखि नै एकै स्वरुपमा अडिएको छ । हिजोदेखिको खिया र धुलोले अकर्मण्य बनेको प्रशासनलाई अब हल्का फुल्का धोइपखालीले नपुग्ने देखिन्छ । यसको उपचार साधारण एन्टिबायोटिकले नहुने र अब जटिल शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा पुगेको छ । बदलिँदो समयमा नविनता र प्रविधिको उच्चतम प्रयोग मार्फत सरकारी सेवा जनताको घरदैलो पुर्याउने गरी काम गर्न सक्ने स्थितिमा लैजान प्रशासन क्षेत्रको चिरफार आवश्यक छ । इतिहासका साना तिना पेशागत हक अधिकारको पक्षपोषण र दन्तभन्जन गर्दै त्यसको ब्याज खाएर अबको सार्वजनिक प्रशासन चल्न सक्दैन । विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनमा साथ दिएको, जनप्रतिनिधिको अनुपस्थितिमा राज्य संयन्त्र चलाएको र विभिन्न प्रकार राष्टिय विपत्तिमा गरेका केहि थान उदाहरणीय कामहरुको व्याख्या र विश्लेषण गरेर विश्व भूमण्डलीकरण सँगै हातेमालो गर्न अभ्यस्त हुन लागेको अबको नेपाली पुस्तालाई यहि प्रकृतिको सरकारी सेवा प्रवाहको भुलभुलैयामा धेरै समय राख्न सकिँदैन ।

त्यसो त भर्खरै सम्पन्न निर्वाचनबाट प्राप्त जन अभिमत र त्यसको अपेक्षाको कस्सीमा खरो उत्रिन राज्यका सबै क्षेत्रलाई जनताले दिएको शान्तीपुर्ण चेतावनीको रापले पोल्न थालिसकेको अवस्था छ । जनताको परिवर्तन प्रतिको तिव्र आकांक्षालाई सम्बोधन गर्न राज्यका सबै तह तप्काबाट प्रयास हुन अत्यावाश्यक भएको छ । जसमा सार्वजनिक प्रशासन पनि अछुतो पक्कै नरहला । अबको लक्ष्य, उद्धेश्य र योजनाको कार्यान्वयन जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने किसिमको हुनु पर्छ ।
राजनीतिक शक्तिको आडमा सिंहदरबारको चौघेराभित्र बसेर कर्णाली र मधेशका गाउँ गाउँको समस्या देख्न र समाधान गर्न सक्छु भन्ने पुरानो सोचले अबको प्रशासन चल्दैन । कर्मचारीतन्त्रमा देखिएको चरम राजनीतिक पक्षपोषण र त्यसको आवरणमा चलेका विभिन्न संघ संगठनले सेवा प्रवाह, नैतिकता र व्यवसायिकतालाई भन्दा अमुक समूह र व्यक्तिको सिमित सेवा सुविधा, हाकिमपना र काम नगरी बस्ने कार्यशैलीलाई महत्व दिँदा आजित भएका नेपाली जनताले अबको परिवर्तन कर्मचारीतन्त्रमा खोजेको स्पष्ट देखिन्छ ।

परिवर्तनका लागि पहिलो कुरा अभिमुखीकरण तालिम नै हो । आफूलाई परिवर्तन गर्न नसक्ने कर्मचारीलाई बिदा गर्नुपर्ने हुन्छ, अथवा उसको मुकाम परिवर्तन गर्नुपर्ने हुन्छ । कर्मचारी बदलिने भनेको व्यावसायिक सदाचारिता बल्दनु हो । यो कुरा बोध गरिसकेपछि कसैले आफूलाई शतप्रतिशत परिवर्तन गर्न नसके पनि केही प्रतिशत त परिवर्तन गर्छ ।
कुन विधि, कानून वा प्रकृयाबाट हुन्छ अब कर्मचारीतन्त्र परिवर्तन नगरे अबको आन्दोलन यस प्रति लक्षित हुने कुरामा जनता विश्वस्त भइसकेका छन् । अबको जनता सेवाग्राही मात्र नभएर स्टेकहोल्डर पनि हो । जसरी भए पनि कर्मचारीतन्त्रको परिवर्तनका लागि लाग्नु पर्छ ।
कर्मको आचार इमान्दारीपूर्वक निभाउने वर्ग भएकाले व्यवहारिक रुपमा जिम्मा पाएको काम इमान्दारिताका साथ व्यवहारमा उतार्न पर्नेमा एकातर्फ कर्तव्य पालना गर्दा कठघरामा पुग्नुपर्ने अवस्था र अर्कोतर्फ काम नगर्दा गुमाउनु पर्ने केही पनि छैन भन्ने वातावरणले कर्मचारीतन्त्रमा ठुलो डेरा जमाएको अवस्था छ । यस्तो अवस्थामा घोडालाई पानीको स्रोतसम्म पुर्याउन सकिन्छ तर जबर्जस्ती पानी पिलाउन सकिन्न भने झैँ कर्मचारीलाई ठाडो आदेश र हैकमवादले होइन सही कार्य वातावरण र उत्प्रेरणाले मात्र कर्मशिल बनाउँछ ।
कर्मचारी व्यवस्थापनको ढाँचा स्पष्ट, निश्चित र उत्तरदायी प्रणालीको विकास गरी पदस्थापन, जिम्मेवारी, कार्यसम्पादनका लागि आवश्यक स्रोत र साधन एवं पुर्वानुमान योग्य वृत्ति विकासको साथै मापनयोग्य लक्ष्य र उद्देश्य तोकेर समयसिमा भित्र नतिजा दिन सक्ने कर्मचारी प्रशासन बनाउनुको विकल्प छैन । साथै प्रणालीले नै सही व्यक्तिलाई सही समयमा सही जिम्मेवारीमा राख्ने गरी काम गर्ने कर्मचारीलाई सुरक्षा र सम्मान तथा काम नगर्ने कर्मचारीलाई जवाफदेही बनाउने कार्य हुन सकेमा कर्मचारीतन्त्रको परिवर्तन असम्भावी छ ।


