Aamsanchar

महिला स्वास्थ्यमा बढ्दो क्यान्सर चुनौती : झापामा निःशुल्क परीक्षण र सचेतना अभियान प्रभावकारी

Author Image
बिहिवार, चैत १९, २०८२

बिर्तामोड । महिला स्वास्थ्यमा गम्भीर चुनौतीका रूपमा देखिँदै गएको क्यान्सर रोग नियन्त्रणका लागि सरकारी स्तरमा पर्याप्त सचेतना र पूर्व–जाँच कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको अवस्थामा झापामा भने स्थानीय स्तरबाट उदाहरणीय पहल सुरु भएको छ।

झापाली महिला पत्रकारहरूको संस्था ‘नारी सञ्चार गृह’ले क्यान्सरसम्बन्धी डर र भ्रम चिर्न तथा समयमै परीक्षणको संस्कार विकास गर्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ। संस्थाको सहकार्यमा पूर्वाञ्चल क्यान्सर अस्पतालले ७ दिनसम्म सञ्चालन हुने निःशुल्क क्यान्सर परीक्षण शिविर हिजो बाट आयोजना गरेको छ ।

समाजमा क्यान्सरलाई अझै ‘प्राणघातक र निको नहुने’ रोगका रूपमा बुझिने हुँदा धेरै महिलाहरू परीक्षण गर्न डराउने अवस्था थियो। तर पछिल्लो समय आधुनिक उपचार प्रविधि र समयमै पहिचान भएमा क्यान्सर निको हुन सक्ने सन्देश फैलिन थालेपछि महिलाहरू परीक्षणतर्फ आकर्षित हुन थालेका छन्।

यसै सन्दर्भमा नारी सञ्चार गृह झापा र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम तथा पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ। कार्यक्रममा क्यान्सरको समयमै पहिचान र उपचारको महत्वबारे विशेष जोड दिइएको थियो।

महिला पत्रकारहरूलाई लक्षित कार्यक्रममा हालसम्म ३० जनाको निःशुल्क स्क्रिनिङ गरिएको छ भने अन्य पत्रकारहरूलाई पनि यसै हप्ताभित्र सेवा प्रदान गरिने जनाइएको छ । साथै, स्तन क्यान्सर परीक्षणमा ५० प्रतिशत छुट उपलब्ध गराउने सहमति पनि गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी डाइरेक्टर डा. अन्जली कार्की प्रसाईले महिला स्वास्थ्यमा यस्तो सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले समयमै स्वास्थ्य परीक्षण गरिए क्यान्सर जस्तो जटिल रोग पनि निको हुन सक्ने धारणा राखिन्।

कार्यक्रममा डा. ज्योति भाजु लामाले पाठेघरको मुख तथा स्तन क्यान्सरका लक्षण, जोखिम र बच्ने उपायबारे जानकारी दिएकी थिइन् भने प्रशिक्षक प्रतिमा कार्कीले प्रारम्भिक पहिचानका विधिहरू सम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा सहभागी महिलाहरूले क्यान्सरसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्नुका साथै निःशुल्क परीक्षणबाट प्रत्यक्ष लाभ लिएका छन्।

आयोजक संस्था नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले यस्ता अभियानले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्दै सहकार्य गर्ने अस्पतालप्रति आभार प्रकट गरिन्। स्थानीय तहबाट सुरु भएका यस्ता पहलहरूले क्यान्सरविरुद्धको लडाइँमा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर