Aamsanchar

कराते प्रशिक्षकमाथि अभद्र व्यवहारको जाहेरी, ‘प्रहरीले दर्ता नगरेपछि पीडित झन् पीडित’

Author Image
बिहिवार, जेठ ७, २०८३

झापा ।  बिर्तामोडमा सम्पन्न “दोस्रो मेयर कप २०८३” कराते खेल  प्रतियोगिता सम्पन्न भएपछि एक महिलाले आफूमाथि अभद्र व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको आरोप लगाएकी छन् ।

बिर्तामोड नगरपालिका–४ निवासी ३८ वर्षीया सन्जु थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कराते प्रशिक्षक भनेर परिचय दिने बिर्तामोड–५ निवासी करिब ५२ वर्षीया मीना देवी पाठकविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा जाहेरी पेश गरेकी हुन् ।

जाहेरीअनुसार, बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा जेठ १ र २ गते “दोस्रो मेयर कप २०८३” प्रतियोगिता बिर्तामोडस्थित अतिथि सदनमा सञ्चालन गरिएको थियो । वडा नम्बर ४ को तर्फबाट सहभागी खेलाडीहरूको टिम म्यानेजरको जिम्मेवारी पाएकी सन्जु थापा प्रतियोगितास्थलमा खटिएकी थिइन् ।

खेलकुद कार्यक्रम सम्पन्न भएपछि जेठ २ गते साँझ करिब ५ः३० देखि ६ बजेको समयमा अतिथि सदन परिसरमा आफूलाई विपक्षी मीना देवी पाठकले सार्वजनिक स्थलमै अभद्र व्यवहार गरेको दाबी जाहेरीमा उल्लेख छ । पीडितको भनाइअनुसार आफूहरूले खेलका लागि ल्याएको म्याटसमेत मीना देवी पाठकको निर्देशनमा हडप्न खोजिएको आरोप लगाइएको छ ।

थापाले आफू र श्रीमान् सूर्यबहादुर थापाले बिर्तामोडमा “भिक्ट्री मार्शल आर्ट्स एण्ड स्पोर्ट्स एकेडेमी” सञ्चालन गर्दै आएको उल्लेख गर्दै घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरेकी छन् ।

घटनापछि न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दर्ताका लागि पुगे पनि प्रहरीले जाहेरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । पीडित सन्जु थापाका श्रीमान् कराते खेलका निर्णायक समेत रहेका व्यवसायी सूर्य सूर्यबहादुरले दोषीमाथि कारबाही नहुँदा र प्रहरी प्रशासनबाट बेवास्ता भएको महसुस गर्दा आफूहरू झन् पीडित बनेको बताएका छन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरी पत्र आमसंचारलाई दिएका छन् भने अभद्र व्यवहारको भिडियोसमेत आफूसँग रहेको जनाएको छ ।

घटना बारे थप बुझ्न आज साँझ ७ः०६ बजे देखि ७ः१९ सम्म आमसंचार डेक्सबाट मिना पाठकलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर