काठमाडौं :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नाम राखेर दल दर्ता गराएको एक नेताले बताए। उनले २२ जना सांसदसहित नयाँ पार्टी गठन गरेका छन्।
अब कमल थापासंग १५ सांसद मात्र रहेका छन्। पार्टी एकीकरण हुनुअघि थापा नेतृत्वको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग २४ सांसद थिए भने राप्रपासंग १३ सांसद थिए। पार्टी एकीकरण भएको बर्ष दिन नपुग्दै राप्रपा विभाजित भएको हो।
पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन्। राणा संविधान संशोधनका पक्षमा रहेका थिए।
यस्तै अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए। अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी केन्द्रीय समिति विस्तार गरेको भन्दै राणाले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।
राप्रपा अध्यक्ष थापाको विर्ता नभएको भन्दै राणाले नेतृत्वले कार्यशैली नसच्याए पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका थिए।-अन्नपूर्णबाट