झापा ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा तनहुँमा बम प्रहार भएको छ । गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा उहाँ सवार गाडीमा वम प्रहार भएको हो । मानवीय क्षति नभएपनि बमको छर्रा लागेर पौडेलको गाडीमा भने क्षति पुगेको छ ।

बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेका एकजना प्रहरी घाइते भएका छन् । नेता पौडेल भने गाडीको अगाडिको सिटमा बस्नु भएको थियो । गाडीमा चालकसहित ८ जना सवार थिए । प्रहरीका अनुसार, पौडेल सवार गाडीमा प्रेसर कुकर बम प्रहार भएको हो । यसअघि नेता पौडेल, लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नयाँ शक्तिका बाबुराम भट्टराई र कांग्रेस महामन्त्री शशांक कोइरालाले सम्बोधन गनुभएको थियो ।
यता अज्ञात समुहले राखेको बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउापार्टी सचिव ३३ वर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी पुगेलगत्तै अर्को बम बिष्फोट हुँदा छर्रा लागेर प्रहरी निरीक्षक देवनारायण यादव र सहायक निरीक्षक उमेश मेहता घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । षडानन्द नगरपालिका दिङलाबाट चुनावी सभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउादै गर्दा षडानन्द–८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ ।
बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताउनुभयो । यसैगरी उत्तरी साल्पासिलिछो २ कुलुङमा वाम गठबन्धनको चुनावी सभा जारी रहेका समय दिउँसो बम विस्फोट भएको छ । सभामा प्रदेश नं। १ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलबाट एक सय मिटर नजीकै बम विस्फोट गराइएको हो । विष्फोट पछि केहीबेर अवरुद्ध चुनावी सभा पुनस् सञ्चालन भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाई छ ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ५ मा बम विस्फोट हुँदा सात जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । बामगठबन्धनको चुनावी सभा बाहिर आज अपरान्ह बम विस्फोट भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ स्थित राधाकृष्ण मन्दिर अगाडी भएको बम विस्फोटमा परी चन्द्रपुर १ स्थित चिडियागाउँका ३१ वर्षीय सरीता राई र उनका सात वर्षीय छोरा जैविक गम्भीर घाईते भएका हुन् ।
रौतहटमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनीहरुलाई चितवनस्थित मेडिकल कलेज पठाईएको छ । राधाकृष्ण मन्दिरको हलमा चुनावी सभा सकेर बाहिर निस्कने क्रममा बम विस्फोट भएको हो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

