Aamsanchar

कनकाईको ६१ औं वार्षिकोत्सव

Author Image
बुधवार, फागुन ८, २०७५

सुरुङ्गा ।

कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षता तथा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो ।

स्काउट शिक्षक राधादेवी केसीको नेतृत्वमा स्काउट ग्रुपले मार्चपास्ट र पीटी प्रदर्शन गर्दै प्रमुख अतिथिलाई सलामी अर्पण गरेका थिए । विद्यालयका प्रअ गोपीकृष्ण भट्टराईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयको आर्थिक, शैक्षिक र भौतिक विकासको निम्ति गरेको रचनात्मक सहयोगको उच्च मुल्यांकन गर्दै झापा क्षेत्र नं. ४ का प्रदेश सांसद हीराकुमार थापालाई विशेष सम्मान गरिएको थियो । त्यसै गरी, विद्यालयका पुर्व प्रधानाध्यापक निर्मलकुमार खतिवडा र सेवानिवृत्त शिक्षक चन्द्रमणि हुमागाईलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकोत्सबकै अवसर पारेर कार्यक्रममा विभिन्न क्षेत्रमा अब्बल विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । कक्षा ११ का रोशन भट्टराईलाई रेनुका तिम्सिना स्मृति छात्रवृत्ति, निशान्त बिमली, ईशा साउदेन, यमुना दुलाल र अंकिता उप्रेतीलाई प्रतिमान–गंगादेवी उप्रेती छात्रवृत्ति, २०७४ सालको एसइई मा मा ए प्लस ल्याउने ५ जना र ए ग्रेड ल्याउने ३७ जनालाई स्व. धनबहादुर सुवेदी स्मृति छात्रवृत्ति र मेगराज कटुवाल, सन्दिप सेडाई, विशाल तामाङ र किरण डाँगीलाई रामप्यारी शिवाकोटी छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसै गरी, १३ जना विद्यार्थीलाई भीमप्रसाद–पद्मकला सुवेदी छात्रवृत्ति प्रदान गरिएको थियोे । पूर्व विद्यार्थी समाजले कक्षा १२ विज्ञान समूहका निशान्त बिमली र कक्षा १२ उत्तीर्ण बहिरा विद्यार्थी सपना राईलाई जनही ५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरु सुमन ठकुरी, मनिषा राई र लीला श्रेष्ठले कराँते काता प्रस्तुत गरेका थिए भने विद्यार्थी सेसेहाङ योङहाङको नेतृत्वमा शिक्षक मन्दिरा डाँगीको निर्देशन रहेको अभिनयात्मक संवाद प्रस्तुत गरिएको थियो ।


प्रतिस्पर्धात्मक कार्यक्रममा कनकाई तारा–२०७५ गायनतर्फ सन्ध्या ठटाल घोषित भइन् भने दर्शन कोईराला र भोगन हेमरम उपविजयी बने । कनकाई तारा–२०७५ नृत्यतर्फ निकिता तिम्सिना घोषित भइन् भने अस्मिता दर्नाल र दीक्षा भट्टराई उपविजयी बने । त्यसै गरी कनकाई लिटल स्टार २०७५ गायन तर्फ कृष्ण भट्टराई र नृत्यतर्फ राहुल शेर्पा विजयी भएका थिए । स्मारिका गौतम, कुसुम ठटाल र रमा ओली उपविजयी बनेका थिए । अनिरुद्र ओली र बालकुमार कटुवालले निर्णायकको भूमिका निभाएका थिए ।

पूर्व कनकाई ताराहरु कृष्ण तिवारी र सुरज भट्टराई गीतहरु प्रस्तुत गरेका थिए । सबै सांस्कृतिक कार्यक्रमको संयोजन शिक्षक दिलिपकुमार खतिवडाले गरेका थिए । शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित व्यक्तित्व हीराकुमार थापा, शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख योगेन्द्रप्रसाद बराल, विद्यार्थीहरु बेविसा दवाडी, युरिका घिमिरे, राजु मण्डल, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश संग्रौला, पूर्व विद्यार्थी समाजका अध्यक्ष अखिलकुमार कोइराला लगायतले बोलेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन शिक्षकहरु तीर्थराज खरेल, तुलसीराम खरेल र शारदा पाठकले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन शिक्षक भीमप्रसाद दाहाल र विद्यार्थीहरु दिवस कार्की, लोकनाथ सुवेदी र अभिषेक मिश्रले गरेका थिए ।

Views: 106

प्रतिक्रिया (०)