Aamsanchar

देवकोटाको पाँचौं वार्षिकोत्सव

Author Image
शनिवार, फागुन ११, २०७५

सुरुङ्गा।

कनकाई–३ सुरुङ्गास्थित देवकोटा एजुकेशन फाउण्डेसनको पाँर्चां वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमारी संग्रौलाको अध्यक्षता र शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख योगेन्द्रप्रसाद बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक, फेशन सो लगायतका विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल जीवनकुमार सिटौलाले पूर्ण अंग्रेजी वातावरणमा व्यावहारिक शिक्षा दिन विद्यालय लागीपरेको बताए । विद्यालयका सञ्चालक हरिप्रसाद फुयाँलले संसारकै ठूलो विद्यालय मानिएको ५५ हजार विद्यार्थी र ४५ सय शिक्षक तथा कर्मचारी कार्यरत रहेको भारतको लखनउस्थित सिटी मन्टेशरी स्कूलसँग सहकार्यमा सफल अभ्यास आदानप्रदान गर्दै विद्यार्थीको सृजनशीलता र चौतर्फी विकासका लागि जोड दिने बताए । छोटो अवधिमा अभिभावकको मन जित्दै देवकोटा स्कूल अघि बढेको अभिभावक संघका अध्यक्ष गोपाल खरेलले बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले फुड एण्ड न्युट्रिशन, साइन्स एण्ड रोबोटिक्स, बीएमआई र आर्ट एण्ड क्राफ्ट सम्बन्धी स्टलहरु प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकका रुपमा ऋषिराम भट्टराई र वर्ष उत्कृष्ट कर्मचारीका रुपमा भोजराज राउतलाई सम्मान गरिएको थियो । त्यसै गरी, विद्यालयका पूर्व कर्मचारी नारायण तिम्सिनालाई कदरपत्र प्रदान गरिएको थियो । ५० जना शिक्षक–कर्मचारी र ६ सय जना विद्यार्थी रहेको सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका कक्षा सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघ विद्यालय एकाइ समितिका उपाध्यक्ष लीला प्रसाईद्वारा अभिभावकका तर्फबाट मन्तव्य राखिएको थियो । कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको विशेष आतिथ्य रहेको औपचारिक कार्यक्रम शिक्षकहरु लेखनाथ गुरागाई र निर्मला खडकाले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु कृतिका सिटौला, रोहन थपलिया, अपेक्षा ढकाल, रुजा तिम्सिना, पल्लवी ओली, स्मृति राई, समीक्षा सिटौला र प्रतीक गुरागाईले गरेका थिए ।

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर