Aamsanchar

बार्षिकोत्सवमा सम्मान

Author Image
सोमवार, फागुन २०, २०७५

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको राष्ट्रिय विजय माध्यमिक विद्यालयले आफ्नो ५९ औं बार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालको प्रमुख आतिथ्य रहेको थियो ।

विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षक सम्मानित भएका छन् । गतबर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने क्रितिशा सुवेदीलाई विद्यालयले नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरि सम्मान गरियो । त्यस्तै उत्कृष्ट छात्रा तर्फ क्रितेश सुवेदीलाई नगद एक हजार रुपैयाँसहित सम्मान गरियो ।

त्यस्तै, विद्यालयका शिक्षक÷शिक्षिकाले स्थापना गरेको शिक्षक पुनर्मिलन अक्षयकोषबाट विद्यालयका पूर्व प्रधानाध्यापक स्व.सीताराम आचार्य र पूर्व शिक्षिका राधा अधिकारी प्रमाणपत्रसहित सम्मानित गरियो । स्वर्गीय भवानी खतिवडाको स्मृतिमा स्थापित अक्षयकोषवाट गत बर्षको कक्षा–८ मा उत्कृष्ट अंक ल्याउने श्रृष्टि अर्याल, श्रेया अर्याल र विक्रम लिम्बूलाई नगदसहित सम्मान गरिएको छ ।

विद्यालयका पूर्व स्वर्गीय शिक्षक नेत्रप्रसाद दाहालको स्मृतिमा धर्मपत्नी शान्ता दाहालले स्थापना गर्नुभएका स्व.नेत्रप्रसाद दाहाल स्मृति कोषबाट विद्यालयमा बर्षभरी सांस्कृतिक कार्यक्रममा उत्कृष्ट विद्यार्थी अनिशा राई र विस्वास पोख्रेललाई नगदसहित सम्मान गरियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाको परिवारले स्थापना गरेको ‘गंगामाया, हेममाया, शिवभक्त, मैनाकुमारी’ स्मृति अक्षयकोषबाट गतबर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने क्रितिशा सुवेदी र क्रितेश सुवेदीलाई नगदसहित सम्मान गरियो ।

त्यस्तै, विद्यालयका सहप्रधानाध्यापक शिवप्रसाद पौडेलले गतबर्षको एसइइमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने क्रितिशा र क्रितेशलाई नगदसहित सम्मान गरियो । आगामी बर्षबाट विद्यालय शिक्षक गीता आचार्यले स्वर्गीय पति तथा विद्यालयका पूर्वप्रधानाध्यापक सीताराम आचार्यको स्मृतिमा आउँदो बर्षबाट विद्यालयका जेहेन्दार र असहाय विद्यार्थीलाई नगदसहित सम्मान गरिने घोषणा गरियो । सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षक कमल खतिवडालाई मायाको चिनो र कदरपत्रसहित विदाई गरियो ।

विद्यार्थी सृष्टि अर्यालले स्वागत गरेको कार्यक्रममा पूर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्रअ मानबहादुर आङ्देम्वे, पूर्वअध्यक्ष तथा सल्लाहाकार समितिका संयोजक नीरकुमार सुवेदी, सात नम्वर वडासदस्य मात्रिका निरौला, जग्गादाता कृष्णबहादुर श्रेष्ठ लगायत विभिन्न संघसस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक गीता ढुङ्गाना, शिक्षक कमल खतिवडा, पूर्व अध्यक्ष सुवेदी, प्रमुख अतिथि पौड्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिम्सिनाले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका सहप्रधानाध्यापक शिवप्रसाद पौड्यालले गरेका थिए । २०१७ सालमा स्थापित विद्यालयले चालू आर्थिक बर्षबाट अग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने विद्यालयले जनाएको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर