झापा, फागुन २६ । डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा उत्रदैछन् ।
झापा चार पटकनै फाइनलमा पुगेको टिम हो भने त्रिभूवन आर्मी दुई पटक उपाधि विजेता टिम हो । यस पटकको उपाधि दु्वै टिमले उचाल्ने टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् ।
झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो ।
आइतबार रंगशाला परिसरमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि तयार रहेको बताएका छन् ।
आयोजक झापा ११ यो पटक उपाधि रक्षा गर्न फरक रणनीतिका साथ तयार रहेको प्रशिक्षक प्रवेश कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो –‘ यस पटक जसरी पनि हामी उपाधि जित्छौं ।’ यो पटक हाम्रो टिम स्ट्रोङ छ प्रवेशले भन्नुभयो –‘ ‘यस पटक अघिल्ला बर्षहरुको खेलको पनि समिक्षा गरेका छौँ, हामी यो पटक उपाधि जित्न लागि परेका छौँ ।’
झापाका कप्तान कर्ण लिम्बूले यो पटक उपाधि उचाल्न आफूहरु मन र जोसले फाइनल खेल्ने बताए ।
यता आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरेपनि टिम उपाधि जित्न तयार रहेको दाबी गर्नुभएको छ । आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागी कडा प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाई छ । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यती सहज छैन’ थापाले भन्नुभयो – ‘जित्ने चान्स् फिप्टिफिप्टी छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’
दर्शकको भरपुर समर्थन पाउदै आएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बू डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्र्ने तयारीमा छ । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित मैदान उत्रदैछ ।
१० टिमले सहभागीता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी पाउनेछन् । आयोजक समिति अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार फाइनल खेल १० हजार दर्शकले हेर्ने छन् । हालसम्म २५ हजार भन्दा बढी दर्शकले प्रतियोगिता हेरेको बताउँदै फाइनल प्रतियोगितालाई मध्यनजर गर्दै दर्शको व्यवस्थापनका लागि विशेष पहल भएको उहाँको भनाई छ ।
यता अखिल नेपाल फुटवल संघका लिग निर्देशक संजिव विष्टले मोफसलमै उत्कृष्ट खेल मैदानसहित प्रतियोगिता गराउँदै आएको झापा फुटवल खेलको विकासमा ठोस् योगदान पु¥याएको बताउनुभएको छ । उहाँले अझ खेल मैदानलाई दर्शक मैत्री बनाउन सके दर्शकको आर्कषण सहित अन्तराष्ट्रिय टुनामेन्ट समेत झापामा गराउन सकिने बताउनुभयो । उहाँले आयोजकलाई खेल मैदानमा स्थायी प्यारापिट र शौचालय, खानेपानी व्यवस्था, खाजाघर निर्माण गर्न सकिए नेपालकै नमूना रंगशाला हुने बताउनुभयो ।