मेचीनगर, १६ असोज । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ स्थित ग्वाला वस्ती, सिसौ डाँगी र झारुवस्तीका ३५ घर परिवारको कुपीमा बस्ने समस्या विहिबारदेखि टरेको छ ।
रोटरी क्लब अफ काँकरभिटटाले मेची प्राथमिक विद्यालयमा आयोजना गरेको सोलार बत्ती वितरण कार्यक्रममा सोलार बत्ती पाए पछि उनीहरुको अनुहारमा खुशी कति थियो त्यसको मापन नै गर्न सकिन्र्दैन थियो । उक्त वस्तीमा लामो समयदेखि विद्युतका पोल गाडिएको भएपनि स्थानीयवासी भारततिरको उज्यालो हेर्दै कुपीको भरमा बस्न बाँध्य थिए । सोलार पाएपछि विहिबारदेखि भने अब वस्ती झलमल्ल हुने र कुपीको भरमा बस्नुपर्ने यो समस्या टरेको स्थानीय अमल यादवले बताए ।
प्रमुख अतिथि मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् वडानम्बर ४ का वडाध्यक्ष नवीन वराल,विशिष्ट अतिथि १५ नम्बर वडाका वडाअध्यक्ष गुणराज भट्टराई, क्लबका अध्यक्ष मोहन निरौला इलेक्ट प्रेसीडेण्ट कृष्ष्कान्त खनियाँ पास्ट प्रेसिडेण्ट दिलीप सुवेदीलगायतले प्रत्येक घरलाई एक ÷एकथान सोलार बत्ती र वस्तीका महिलाहरुलाई साडी गरी कुल १ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको जिन्सी सामान प्रदान गरेका थिए ।
अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेचीनगर-१५ स्थित मेची पारीको यी वस्ती झापाको ‘कर्णाली’ जिल्लाको रुपमा समेत परिचित छन् । सो ठाउँका स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको सुविधा समेत उपभोग गर्न नपाएको मेची प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका यादवको भनाई छ ।
‘जे होस सरकारले नदिए पनि रोटरीले चाडपर्वको मुखमा गाउँघर नै झलमल्ल हुने सोलार र नयाँ साडी दियो ’सिसौँ डाँगीकी दुनही वास्केले भनिन्-आज हामी कति खुशी छौ भनेरै साध्य छैन् । दशै आए जस्तो वल्ल लाग्यो ।’ उनीमात्र होइन उनीसँगै साडी र सोलार लिन आएकी सोना वास्के, भागीरथा राजवंशी, विमला राजवंशीलगायतको अनुहारमा समेत खुशीको सीमा नै थिए । केही दिन अघि त्यहाँको पछिल्लो वस्तु स्थिति बुझ्न त्यहाँ पुगेका मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडानम्बर ४ का वडाध्यक्ष नवीन वराल र १५ नम्बर वडाका वडाअध्यक्ष गुणराज भट्टराईसँग उनीहरुले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका थिए । त्यस लगत्तै रोटरी क्लब अफ काँकरभिट्टाले त्यहाँ निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको थियो । सोहि क्रममा स्थानीयवासीले अध्यारोका कारण आफ्ना बालबच्चाले पढ्न नपाएको पीडा सुनाएपछि रोटरीले बालबच्चालाई पढनका लागि सजिलो होस भनरे प्रत्येक घरमा एक ÷एकथान सोलार बत्ती र वस्तीका महिलाहरुलाई साडी वितरण गरेको क्लबका सचिव उदयकुमार श्रेष्ठले जानकारी दिए ।
सोलार र साडी पाएपछि स्थानीय रामकृष्ण यादवले खुशी प्रकट गर्दै भने —‘सोलारले घर झलमल्ल हुने भो साडीले श्रीमती ।’ सामान पाउने आशामा विहानैदेखि स्थानीयवासी विद्यालय परिसरमा लामबद्घ बसेका थिए । स्थानीयवासीले आगामी दिनमा समेत यस्तै सहयोग गर्न क्लबलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दैं क्लबका अध्यक्ष मोहन निरौलाले यहाँका हरेक मानिसको निःशुल्क स्वास्थ्य उपचार गरिदिने प्रतिवद्घता गदैं कुनै प्रकारको रोग लागे खवर गर्न आग्रह गरेका थिए ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, क्लबका पदाधिकारीहरुले यो वस्तीको विकासमा नगरपालिका र सामाजिजक संघ संस्थाहरु सक्रियपूर्वक लागेको बताए । कार्यक्रमको सञ्चालन क्लबका सचिव श्रेष्ठले तथा प्रविधिका बारेमा क्लब व्यवस्थापनका संयोजक सुजन प्रधानले जानकारी गराएका थिए ।
स्थानीयवासीका अनुसार वस्तीको वीचमा रहेको मेची प्राथमिक विद्यालयमा २ कक्षा भन्दा माथि पढाई हुदैन । १९ वर्ष अघि स्थापना भएको सो विद्यालयमा विद्यार्थी समेत खोजेर ल्याउनु पर्छ । हाल ३५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा दुईजना शिक्षक छन् । विद्यालयमा कक्ष २ सम्म मात्र पढाईहुने भएकाले त्यसपछिको पढाईका लागि अन्यत्र जानुपर्ने र अधिकाँश नजीकै रहेको भारतका विभिन्न विद्यालयमा बंगला, हिन्दी तथा उर्दु भाषा पढ्न बाँध्य भएको प्रधानध्यापक युवराज ढकालको भनाई छ ।
उनका अनुसार यहाका धेरै बालबालिका उच्च शिक्षाबाट समेत बञ्चित छन् । अझ वर्खायाममा त न शिक्षक आउछन न विद्यार्थी नै विद्यालय सुनसान हुन्छ । विद्यालय आउदा मेची खोला तर्नुपर्ने र खोलामा बाढी आएका कारण जोखिम हुने हुँदा शिक्षक र विद्यार्थी नै नआउने शिक्षिका रुमा राजवंशीको भनाई छ । हाल कक्षा २ सम्म पढाई भइरहेको यो विद्यालयलाई स्तरबृद्घि गरेर कक्षा ५ सम्म बनाउने योजना रहेको मेचीनगर नगपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडानम्बर ४ का वडाध्यक्ष वरालको भनाई छ ।
विद्यालयमा विद्यार्थीको आर्कषणका लागि १५ नम्बर वडाले हरेक विद्यार्थीहरुका लागि व्याग, जुत्ता चप्पल, टिफिनको व्यवस्था समेत गरेको छ । नदीका कारण र यस विद्यालयमा कक्षा २ सम्म मात्र पढाई हुने भएकाले अधिकाँश विद्यार्थी भारततर्फ जाने गरेको १५ नम्बर वडाका वडाअध्यक्ष गुणराज भट्टराईको भनाई छ । यदि समयमै यो विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सकेमात्र यहाँका नेपाली विद्यार्थीहरु भारतका विद्यालयमा गएर बंगला, उर्दु तथा हिन्दी भाषा पढनु पर्ने बाँध्यताको अन्त्य हुने स्थानीयको भनाई छ ।