Aamsanchar

महराविरुद्ध डेढ गुणा बढी सजाय माग

Author Image
बिहिवार, कार्तिक १४, २०७६

 फायल फोटो

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा बसेर कसूर गरेकाले उनलाई हुने सजायको डेढ गुणा बढी सजायको माग दावी गरेको छ ।

जिल्ला सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको छ ।

महराले करणी नभई करणीको उद्योग गरेको सरकारी वकिल कार्यालयले निश्कर्ष निकालेको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ । यस अनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि ५ वर्षको कैद सजाय माग दावी गरेको छ ।

महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर