झापा।

जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न विद्यालय तथा सार्वजनिक कार्यक्रममा सचेतना जगाएसँगै झापामा महिला तथा बालिका माथि हुने हिंसामा कमी आएको छ ।

गत आर्थिक वर्ष २०७५–७६ को पहिलो चौमासिकमा ४९ वटा जवरजस्ती करणीका घटना भएका थिए । त्यस्तै १९ वटा जवरजस्ती करणी उद्योगका घटना भएको प्रहरीले जनाएको छ । शिक्षित जिल्लाको रुपमा चिनिए पनि महिलामाथि हुने हिंसा र बालिकामाथि गरिने विभिन्न यौनजन्य हिंसाको शिकार बन्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सचेतना फैलाएसँगै चालू आर्थिक बर्ष २०७६÷०७७को पहिलो चौमासिकमा महिला तथा बालिकामाथि भएका २० वटा घटनाका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमध्ये जवरजस्ती करणी र बहुबिवाहका घटना ७–७ वटा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीे तथ्याङ्क अनुसार मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी चार, बाल यौन दुरुपयोग र भेदभाव तथा अपमानजनक व्यवहार सम्बन्धी एक–एकवटा मुद्दा दर्ता भएका छन् । अपराधमा संलग्न १७ जना पुरुष तथा ७ जना महिला पक्राउ परेका छन् । अपराधमा संलग्न भएका तीन पुरुष र चार महिलाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
गत वर्ष झापामा महिला हिंसाका घटना उच्च रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले महिलामाथि हुने हिंसा तथा अपराध रोक्न समुदाय साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि अपराधका घटनामा कमी आउन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अपराधका घटनामा कमी ल्याउने उद्देश्यले विभिन्न विद्यालयमा गएर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । किशोर अवस्थामा रहेका विद्यार्थीहरु गलत बाटोमा नजाउन् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक मैनालीले अपराधका प्रकृति र कानूनी कारबाहीका विषयमा विद्यार्थी तथा शिक्षकका साथै जनसमुदायमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।
१५ वटै स्थानीय तहमा विद्यालय स्तरीय कार्यक्रम गरेर लागूऔषध, यौनहिंसा लगायतका अपराधविरुद्ध सचेतना फैलाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
किन हुन्छन् यस्ता घटना ?
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार– यस्ता घटना हुनुमा हाम्रो सामाजिक संरचना नै जिम्मेवार रहेको छ । कतिपय घटनाहरुलाई आर्थिक, सामाजिक परिवेशले प्रोत्साहन मिल्ने गरेको उनको भनाइ छ ।
अपराधजन्य सोच भएका व्यक्तिहरुलाई सचेत गराउन नसक्दा सामाजिक, आर्थिक र पारिवारिक व्यवस्थापनको अभाव नै घटनाका प्रमुख कारण भएको प्रहरीले जनाएको छ । पछिल्लो समय यस्ता अपराधहरु गाउँमा भन्दा शहरमा बढ्दै गएकाले सबैले सचेतना फैलाउन जरुरी रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
यसो भन्छन्– अधिकारकर्मी
बर्तमान समयमा महिलाका निम्ति निर्माण भएका कानूनले उनीहरुलाई सचेत बनाइरहेको अधिकारकर्मीहरुले बताएका छन् । हिंसाबिरुद्ध जारी बिभिन्न अभियानहरु पनि प्रभावकारी नै बनिरहेको महिला अधिकारकर्मीहरु बताउँछन् ।
हिंसा सहेर बस्न नहुने मानसिकताको बिकास भएकाले महिलाहरु आफूमाथि हिंसा भएको महशुस हुनासाथ उजुरी दिइहाल्ने क्रम बढेको अधिवक्ता तथा महिला अधिकारकर्मी कोपिला बस्नेतको भनाइ छ । हिंसा सहेर बस्दा पीडकको मनोबल बढ्ने र सामाजिक तथा मानसिक रुपमा आफैंलाई असर पर्ने भएकाले पीडितहरु न्यायालय धाउने गरेको उनले बताइन् ।
हिंसा निर्मुल कसरी गर्ने ?
पुरुषको तुलनामा आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुमाथि हुने बिभिन्न प्रकारका हिंसा निर्मुल पार्न असम्भव रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । उनले भने– कसैलाई होच्याएर बोलिन्छ भने त्यो पनि हिंसा अन्तर्गत नै पर्दछ, यो क्रमशः न्यूनीकरण हुँदै गए पनि नियन्त्रण हुन असम्भव जस्तै छ । यसका लागि महिलाहरुले नै आवाज उठाउन जरुरी रहेको श्रेष्ठको भनाइ छ ।
समाजले महिलालाई प्रथमिकताभन्दा पनि कोटामा सीमित राखेकाले क्षमता हुँदाहुँदै पनि महिलाहरु पछि परेको अधिबक्ता बस्नेतको भनाइ छ । प्रविधिको विकाससँगै महिलाहरु हरेक कुरामा दखल राख्ने भएकोले उनीहरुको क्षमता र योग्यतालाई समाजले स्वीकार्नुपर्ने उनले बताइन् । हिंसा अन्त्यका लागि महिलाहरु नै महिलाको सहयात्री बन्नुपर्ने बस्नेतको भनाइ छ ।

