Aamsanchar

नेकपा सांसदको माग: भारतसँगको सीमा तत्काल बन्द गर्नुपर्ने

Author Image
आइतवार, चैत ९, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले तत्काल भारतसँगको सीमा बन्द गर्न माग गरेका छन् ।

संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा बोल्दै नेकपाका सांसद पम्फा भुसाल र भीम रावलले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्नुपर्ने बताएका हुन् ।

‘भारत र नेपालका बीचमा खुला सीमा छ । खेतबाटै आवतजावत हुन्छ । त्यसकारण तत्काल खुला सीमा बन्द गरौं’ आइतबारको समिति बैठकमा सांसद भुसालले सरकारसँग माग गरिन्, ‘निश्चित सीमा तोकेर आवतजावत गर्न दिउँ र आउनेहरुको विशेष निगरानी राख्ने व्यवस्था गरौं ।’

सांसद रावलले भारतले नमाने एकतर्फी रुपमा भए पनि भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सझुाव दिए । ‘खुला सीमा बन्द गर्न नेपालले भारतलाई आग्रह गरेको सुनिएको छ । उसले जवाफ दिएन भनेर हामीले आफ्नो निर्णय नगर्ने रु’ रावलले प्रश्न गरे, ‘यस्तो हुन सक्दैन । सरकारले निर्णय गरोस् ।’

खुला सीमा बन्द नभए भारत हुँदै नेपालमा कोरोनाको महामारी फैलिने उनको चेतावनी छ । ‘ढिलो भयो भने अमेरिकामा र इटलीमा जस्तै ज्यामितीय रुपमा नेपालमा भाइरस फैलिन सक्छ । बेलैमा सरकारको ध्यान जाओस्’ उनले भने ।

चीनको सहयोग स्वीकार गर

सांसदद्वय भुसाल र रावलले चीनले दिने भनेको सहयोग तत्काल स्वीकार गर्न पनि सरकारलाई आग्रह गरे । ‘चीनले दिने भनेको ल्याइहालौं, जनतालाई उपलब्ध गराइहालौं’ सांसद रावलले भने ।

चीनले नेपाललाई कोरोबाटबाट सतर्कता अपनाउन मेडिकल उपकरणदेखि चिकित्सक वा के के चाहिन्छ लिस्ट बनाएर दिन नेपाल सरकारलाई भनेको छ । ‘छिमेकीले दिन्छु भन्दा लिन हुन्छ । चीनले दिन्छु भनेको ल्याइहाल्न पर्यो’ सांसद भुसालले समिति बैठकमा भनिन् ।

Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर