Aamsanchar

घर हुनेको भन्दा नहुनेको चिन्ता सरकारले लिनु पर्छ ? तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्न जोड

Author Image
शुक्रवार, वैशाख १९, २०७७

सडक मानवका समस्यालाई तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्न जोड दिइएको छ ।

संवाद समूह झापाको संयोजनमा शनिवार भएको ‘भिडियो कन्फ्रेन्स’मा सरोकारवालाले आफ्ना प्रतिबद्धतासहित उक्त कुरामा जोड दिएका हुन् । झापाका सडक र विभिन्न चोकमा रहेका असहाय तथा मानसिक सन्तुलन घुमाएकाहरुका समस्याकोबारेमा ‘भिडियो कन्फ्रेन्स’ मा गम्भीर छलफल भएको थियो ।

प्रदेश नं. १की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले लकडाउनको समयमा सडक मानवको समस्यालाई अल्पकालीन र त्यसपछि दीर्घकालीन रुपमा समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।

रोगभन्दा अघि भोकले कोही पनि मान्छेले मृत्युवरण गर्नु नपरोस् भनेर आफू लागीपर्ने उनले बताइन् । स्थानीय सरकारसँग समन्वय गरेर सडक मानवहरुको अभिभावकत्व ग्रहण गर्न सरकार तयार रहेको राज्यमन्त्री गजमेरको भनाइ थियो । उनले झापालाई छिट्टै सडक मानवरहीत समाजको रुपमा विकास गर्ने समेत बताइन् ।

झापाको माईपूर्व रहेका चार महिलासहित असहाय तथा मानसिक सन्तुलन गुमाएका एक सय बढी सडक मानवलाई सामाजिक अभियन्ता दिवाकरलाल चौधरी र सञ्चारकर्मी खगेन्द्र घिमिरेको अगुवाईमा एक छाक खाना खुवाउँदै आएका छन् । चौधरीले आफ्नै खर्चमा लगडाउनको छैठौं दिनदेखि बिर्तामोड अर्जुनधारा आसपासका २५ जना सडक मानवलाई खानाको व्यवस्था गर्दै आएका छन् । सत्य साई केन्द्रको सहयोगमा सञ्चारकर्मी घिमिरे लगायतको टिमले भने माईपूर्व, मेचीसम्मका ८५ जना सडक मानवलाई दैनिक एक छाक खाना खुवाउँदै आएका छन् ।

चौधरी र घिमिरेले यो अभियानमा हालसम्म कुनै पनि तहको सरकारले चासो नदिएको, सहयोग नगरेको र सडक मानवका लागि आवश्यक औषधि उपचारसहित नगरेकोमा राज्यमन्त्री गजमेरको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सडक मानव रहेकै ठाउँमा दैनिक यातायातमार्फत खाना पु¥याउँदै आएका छन् । लकडाउन लम्बिँदै जाँदा इन्धन लगायतका सामग्रीको आफूहरुले अभाव झेल्नुपरेको अभियन्ताले बताएका छन् ।

सडक मानवले एक छाक खाएर बाँच्नु परेको अवस्थाबारे ‘भिडियो कन्फ्रेन्स’मा सहभागीहरु गम्भीर बनेका थिए । माईपश्चिम पनि उत्तिकै संख्यामा सडक मानव रहेको बताइन्छ । ‘भिडियो कन्फ्रेन्स’ मा एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल लगायतले सडक मानवको दिगो व्यवस्थापनमा सरकारले ध्यानदिनुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट उनीहरुको हितका लागि सञ्चालन गर्ने अभियानमा सहयोग रहने प्रतिबद्धता जनाए ।

स्थानीय सरकारले लगत संकलनसहित उनीहरुको उचित व्यवस्थापन बारे चासो दिनुपर्ने बताएका छन् । ‘भिडियो कन्फ्रेन्स’ लगत्तै राज्यमन्त्री गजमेरले सडकमा वेवारिसे रहेका चार महिलाको उद्धार, उपचार र व्यवस्थापनको पहल थालेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर