चारपाने । ‘एकका लागि एक’ अभियानले जिल्ला प्रशासन कार्यालय झापालाई डवल पिसिआर र आरडिटी किट प्रदान गरेको छ ।
कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज सोमबार तिनसय २० थान डवल पिसिआर र ८० थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष वितरण कार्यक्रमका संयोजक मिजास पाखरेलले जानकारी दिए ।
एक कार्यक्रमका बीच जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी उदय रानालाई किट प्रदान गरिएको हो । झापाको विभिन्न क्षेत्रमा स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएकाले परीक्षणको दायरा पनि बढाउनु पर्ने भएकाले किट प्रदान गरिएको अभियानको साझेदार संस्था रोटरी क्लव अफ सुरुंगाका अध्यक्ष कुमार पोखरेलले बताए ।
अभियानले यसअघि पनि जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्रदान गरिसकेको छ । त्यसैगरी मेचीनगर नगरपालिकालाई एकसय थान आरडिटी किट हस्तान्तरण गरिसकेको छ ।
एक हजार किट खरिद गरेर झापामा परीक्षणका लागि हस्तान्तरण गर्ने योजना अभियानले बनाएको छ । किट हस्तान्तरण कार्यक्रममा संयोजक पोखरेलले अभियानले अब स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने उल्लेख गरे ।
अभियानका सदस्य शिवकुमार कडेलले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानाले कोरोना परिक्षणलाई तिब्रता दिनुपर्ने भएको छ, त्यसका लागि पहिलो आवसेकता किट भएकोले अभियानले उपलब्ध गराएको किटने निकै ठुलो सहयोग मिलेको बताए । उनले किट अभाव भइरहेको अवस्थामा अभियानले उपलब्ध गराइदिएकोमा धन्यवाद दिए ।
झापामा परीक्षण किटको अभाव भएपछि अभियानले खरिदमा चासो देखाएको थियो । यसअघि खाद्यान्न वितरण र खाना खुवाउँदै आएको अभियानले अब स्वास्थ्य परीक्षणमा केन्द्रित हुने जनाएको छ ।
कार्यक्रममा अभियानका सहसंयोजक बिनोद बस्नेत, साझेदार संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल जेसीजका उपाध्यक्ष विशाल थापा, जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईराला, बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य सञ्जिव घिमिरे, वीरता जेसीजका महासचिव विकाश बस्नेतलगायतको उपस्थिति थियो ।