Aamsanchar

कोरोना सचेतना फैलाउन शिखर साकोस सडकमा

Author Image
मङ्गलवार, असार २३, २०७७

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले मास्क अनिवार्य लगाउन आग्रह गर्दै सचेतना फैलाउने काम गरेको छ ।

मंगलबार संस्थाले बिर्तामोड नगर परिक्रमा गरी कोरोना भाइरसबाट बच्न मास्क अनिवार्यरुपमा लगाउन आग्रह सर्वसाधरणमा अपील गरेको हो । सचेतनामुलक नारा लेखिएका प्लेकार्ड ब्यानरसहित संस्थाको कार्यालय परिसरबाट सुरु भएको र्यालीले पैदलयात्री, पसल सञ्चालक र क्रेताहरुलाई मास्क लगाउन आग्रह गरेको थियो । बजार परिक्रमापछि र्यालीमा सहभागीहरुले मुख्य राजमार्गमा सवारी चालक र यात्रुलाई मास्क लगाउन सुझाव दिइका थिए ।

बिर्तामोडमा सवारीको चाँप बढेको छ, त्यस्तै मास्क नलगाई हिड्ने सर्वसाधारणको भिड दिनदिनै बढदै गएको छ । बजारमा निस्कने भिडले समाजमा कतै भाईरस फैलिने पो हो की भन्ने त्रास बढन थालेको छ । सर्वसाधारणमा सचेतना जगाउन शिखर साकोसले गरेको र्यालीलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले सहजीकरण गरेको थियो ।

सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले हिजो मात्र गृह मन्त्रालयले घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेकाले आज सचेत गराइएको बताए । ‘अटेर गरेमा भोलिदेखि कारवाहीको तहमा जानुपर्ने हुन्छ’ डिएसपी रिजालले भने, ‘आज सडकमा नै निस्केर सबैलाई आग्रह गरेका छौं, मास्क नभएकालाई निशुल्क दिएका पनि छौं, भोलिदेखि यो छुट कसैलाई हुने छैन ।’

आयोजक शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले लकडाउन सुकुलो पार्नुपर्ने सरकार र नागरिकका लागि हितकै कुरा हो तर महामारी दिनहुँ बढिरहेको छ, हेल्च्याक्राई कसैले गर्नु हुदैन स्वास्थ्य सुरक्षाका दृष्टिकोणले मास्कलाई न्यूनतम आवश्यकता हो भनेर सचेतना बढाउन कार्यक्रम गरिएको बताएका छन् ।

Views: 34

प्रतिक्रिया (०)