Aamsanchar

अर्जुनधारा नगरलाई समृद्ध बनाउन सहकार्यको आग्रह

Author Image
शनिवार, फागुन ५, २०७४

अर्जुनधारा।

झापाको अर्जुनधारा नगरलाई समृद्ध बनाउने अभियानमा त्यहाँका जनप्रतिनिधि तथा राजनीतिक दलले सहकार्यका लागि सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

स्थानीय क्षेत्रका समस्या, चुनौति र समाधानका उपाय विषयमा संवाद समूह झापाले शनिवार नगरपालिकामा गरेको छलफलमा सहभागी उनीहरुले यस्तो बताएका हुन् । छलफलमा निकालिएको चार बुँदे साझा निष्कर्षलाई पनि सो अवसरमा पारित गरिएको छ ।

सडक विस्तार, कृषि, पर्यटन, विद्युत्, शिक्षा, स्वास्थ्य, नदी तटबन्ध, जस्ता दीर्घकालीन नगर गौरबका आयोजनालाई सफल बनाउन सबै नगरवासीले सहयोग गर्नुपर्नेमा उनीहरुको जोड थियो । नगरको समस्या हाम्रै हो र समाधान पनि हाम्रै हो भन्ने कुरा आत्मसात गरी सार्वजनिक समस्या÷विवादहरुको पहिचान र विश्लेषण गरी सरोकारवालाहरुको सहकार्यमा नियमित छलफल र संवादबाट समाधानबाट अघि बढ्ने उनीहरुको निष्कर्ष छ ।

त्यस्तै नगरको समृद्धिका लागि सरोकारवालसँग सहकार्य गरी अघि बढ्ने तथा विकासमा राजनीति नगरी स्थानीय आवश्यकतालाई ध्यानमा राख्ने समेत उनीहरुले बताएका छन् । हचुमासा सामुदायिक वनमा सात महिनादेखि भइरहेको तालाबन्दी लगायत नगर क्षेत्रका संस्थामा उत्पन्न समस्यालाई तत्काल समाधान गर्ने समेत उनीहरुको भनाइ छ । अर्जुनधाराका मेयर हरिकुमार रानाले नगर क्षेत्रका विभिन्न समस्या र विवादका विषय बारे जानकारी गराउँदै समाधानका लागि सबैको सोच र व्यवहार परिवर्तन हुन जरुरी रहेको बताए । सोच बद्ल्नकै लागि उनले नगरपालिकाको पहलमा सकारात्मक सोच सम्बन्धी कार्यशाला सञ्चालन गर्ने समेत बताए ।

उपमेयर कमला खतिवडा जग्गा विवाद, सम्बन्ध विच्छेद, लेनदेन जस्ता विवाद बढी आउने गरेको बताउँदै अन्य समस्याको बारेमा समेत जानकारी गराएकी थिइन् । छलफलमा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, माओवादी केन्द्रका नगर अध्यक्ष दीपेन्द्र लम्साल, संघीय समाजवादी फोरमका नगर अध्यक्ष सृजलाल चौधरी, बार एशोसिएशन झापाका सचिव चित्रबहादुर मगर, राप्रपाका प्रतिनिधि लवकुश गिरी, गोविन्द कार्की, कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, बरिष्ठ कार्यक्रम अधिकृत हिमराज सेढाईले नगर क्षेत्रका विविध समस्या बारे जानकारी गराएका थिए ।

वडा नम्बर ४का अध्यक्ष दुर्गाप्रसाद दाहाल, ६का अध्यक्ष लोकनाथ गौतम, ७का अध्यक्ष नवीन ढुंगाना, ८का अध्यक्ष गोपीचन्द्र गौतम, १०का अध्यक्ष बलदेव सिंह गोम्देन, वडा नं. ११का भैरवबहादुर खड्काले वडा तहमा सामना गर्नु परेका चुनौतिका विषयमा जानकारी गराएका थिए । त्यस्तै बोर्ड सदस्यहरु हरिमाया दाहाल, लक्ष्मी तामाङ, दिलीप गुरुङ, सकुन्तला बराल, रमेश त्रिखत्री लगायतले समेत विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए ।

अर्जुनधारामा अव्यवस्थित बसोबास, नागरिकता, चिया मजदुरका समस्या, प्राकृतिक स्रोतको उपयोग सम्बन्धी समस्या, कर्मचारी व्यवस्थापन, सडक, विद्युत्, खानेपानी जस्ता विविध समस्या रहेको सो अवसरमा बताइयो । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । सहभागीले सेवादायी निकायको सेवा प्रवाह, नीति निर्माण र विकास निर्माणका क्षेत्रमा देखिएका समस्या बारे अवगत गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर