झापा।




झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा मेची अञ्चलका एक हजार २१६ जनाले निःशुल्क सेवा लिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । यस अवसरमा उनीहरूलाई एक हप्ताको निःशुल्क औषधि वितरण गर्नुका साथै ल्याब परीक्षणमा छुट दिइएको थियो ।
शिविरमा पाकिस्तानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मजहर खान , डा दिवस खड्का, डा सोनिया प्रसन्न थापा र डा किशोर कुमारले बिरामीको स्वास्थ्य परीक्षण गरेको बताइएको छ ।

यसैबीच उक्त हस्पिटलमा जेठ २ गतेबाट सञ्चालन भएको स्त्रीरोगसम्बन्धी विशेष शिविर आगामी जेठ १४ गतेसम्म सञ्चालन हुने जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो ।
शिविरमा डा सुनिल साह, डा रूपसना खानलगायतको विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिइरहेको बताइएको छ ।
साथै शिविरबाट सिफारिस भएका बिरामीको शल्यक्रियामा २५ प्रतिशत छुटलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।
शिविरमा आउने महिलाको सङ्ख्या बढिरहेकाले अवधि बढाइएको जनाइएको छ ।