Aamsanchar

तमोर आयोजनाको अध्ययन सम्पन्न गर्न प्राधिकरणलाई आग्रह

Author Image
सोमवार, कार्तिक १३, २०७४

काठमाडौँ, 

विद्युत् विकास विभागले तोकिएको समयभित्रै तमोर जलाशय आयोजनाको अध्ययनको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

विभागले अध्ययनको काम सम्पन्न गर्न र त्यसपछि के कति क्षमतामा आयोजना निर्माण गर्ने हो, सो को समेत प्रस्ट खाका पेश गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले सो आयोजनाको क्षमता ७२० मेगावाटको हुने जनाएको छ । तर विभागले भने कति क्षमताको अध्ययन गर्न अनुमतिपत्र दिइएको हो सोही आधारमा काम गर्न प्राधिकरणलाई आग्रह गरेको छ । विभागले आज यहाँ सम्बद्ध पक्षसँग गरेको छलफलमा अध्ययनको काम सम्पन्न गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

विभागका महानिर्देशक नवीनराज सिंहले क्षमता वृद्धिभन्दा पनि तोकिएको समयमा नै अध्ययन सकेर काम शुरु गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

तमोर जलाशयकै क्षेत्रमा पर्ने गरी यसअघि नै विभागले ३७.६ मेगावाट क्षमताको काबेली ए र २१.६ मेगावाटको तल्लो हेवालाई अनुमतिपत्र दिएको छ । ती दुई आयोजनाका कारण तमोर जलाशययुक्त आयोजनाको क्षमता ७२० मेगावाट बनाउन नसकिने धारणा विभागको छ ।

तर प्राधिकरणले भने प्राकृतिक स्रोतको उच्च सदुपयोग गर्ने भएकाले ७२० मेगावाटमा नै निर्माण गर्नुपर्ने धारणा राख्दै आएको छ । महानिर्देशक सिंहले भने अध्ययन सकिएपछि क्षमताका बारेमा समेत निर्णय हुने बताउनुभयो ।

छलफलमा प्राधिकरण तथा जलाशय वरपर पर्ने आयोजनाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर