Aamsanchar

उच्च अदालतका २३३ मुद्दा फछ्र्याेट

Author Image
बुधवार, माघ १६, २०७५

दाङ, 

उच्च अदालत तुलसीपुरले यस आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्ममा अदालतमा परेका मुद्दामध्ये २३३ थान फछ्र्योट गरेको छ ।

उच्च अदालत तुलसीपुरका उपसचिव तथा सूचना प्रमुख रुद्रमणि गिरीले यस आवको साउनदेखि माघ १५ गतेसम्म अदालतमा दर्ता भएका ३४४ र अघिल्लो आवबाट जिम्मेवारी सरेका १८४ गरी जम्मा ५२८ थान मुद्दामध्ये २३३ थान फछ्र्योट भई हाल २९५ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।

कूल सङ्ख्याको ४५ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । व्यक्तिवादी देवानीतर्फ १५४ थान रहेकामा ७३ थान मुद्दा फछ्र्योट भई ८१ थान विचाराधीन छन् । व्यक्तिवादी फौज्दारीतर्फ ६६ थानमध्ये १७ थान मुद्दा फछ्र्योट ४९ थान विचाराधीन रहेका छन् ।

त्यसैगरी सरकारवादी फौज्दारीतर्फ २४२ मुद्दामध्ये जम्मा १०४ थान मुद्दा फछ्र्योट भएका छन् । यस अवधिमा अदालतमा परेका ५८ रिटमध्ये ३५ फछ्र्योट भएको बताइएको छ ।

हाल विचाराधीन अवस्थामा रहेका मुद्दामा नौ महिनाको अवधिमा २५१, नौ महिनादेखि एक वर्षसम्मका पाँच र एक वर्ष नाघेका ३९ थान मुद्दा रहेको पनि गिरीले जानकारी दिनुभयो ।

नागरिकलाई छिटो छरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था गरिनुको साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाई काम समयमा नै प्रभावकारी रुपमा गर्न सफल भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार श्रीलाल पौडेलले बताउनुभयो ।

उहाँले थुनुवा तथा असहाय, आर्थिक रुपमा विपन्न बालबालिका आदि पक्ष भएका मुद्दामा वैतनिक कानून व्यवसायी, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत कार्यक्रम, न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रुपमा भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर