Aamsanchar

कृष्ण प्रणामी मन्दिर चारपानेमा शनिबार हजारौंको उपस्थिती

Author Image
शनिवार, फागुन २४, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ ।
मन्दिरले स्वर्ण महोत्सवको अवसरमा साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ आयोजना गरेको हो ।
फागुन २१ गते शुरु भएको उक्त अनुष्ठानको चौथो दिन लगभग १० हजार भक्तजनको आगमन भएको स्वर्ण महोत्सव मूल आयोजक समितिका प्रचार प्रसार संयोजक एवम् श्रीकृष्ण प्रणामी युवा परिषद झापाका उपाध्यक्ष टहलदास ओलीले जानकारी दिए । अघिल्ला दिनहरुको तुलनामा संख्या बढ्दै गएकोले बाँकी दिनहरुमा भक्तजन अझ थपिने उनले बताए ।

रक्तदान
शनिबार महोत्सव परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियो । श्रीकृष्ण प्रणामी प्रदेश नं १ को संयोजन, श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिति झापा र प्रारम्भिक समिति चारपानेको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ७५ जना भक्तजनले रक्तदान गरेका थिए । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको रहेको सो कार्यक्रमको अध्यक्षता प्रदेश १ संयोजक अनिल ढुंगानाले गरेका थिए । खगेन्द्र वाँस्तोलाले सञ्चालन गरेको कार्यक्रम केन्द्रीय उपाध्यक्ष यज्ञ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । आयोजकले १०८ पिन्ट रगत संकलन गनेृ लक्ष्य राखेको थियो ।

महिला सम्मेलन
चौथो दिन नै महोत्सव परिसरमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिको सम्मेलन सम्पन्न भएको छ । प्रथम महिला भागवत वाचिका तारा माताको विशेष उपस्थितिमा सम्पन्न सम्मेलनमा देश–विदेशका बाइजुराज महिला समितिका एक हजारभन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

युवा सम्मेलन
तेस्रो दिन शुक्रबार श्रीकृष्ण प्रणामी युवा परिषद झापाको आयोजनामा बृहत युवा सम्मेलन सम्पन्न भएको थियो । जिल्ला अध्यक्ष सुवास रिजालको अध्यक्षतामा सम्पन्न युवा सम्मेलनका प्रमुख अतिथि युवा परिषदका केन्द्रीय अध्यक्ष नमराज ढकालले समाजमा देखिने विकृति–विसंगति हटाउन युवाहरु एकजुट हुनुपर्ने बताए । युवा परिषद प्रदेश १ का संयोजक अनिल ढुंगानाले स्वागत र झापा उपाध्यक्ष सुरज सापकोटाले सञ्चालन गरेको सम्मेलनमा पूर्व अध्यक्ष अशोक सुब्बा, पुनित वंशल, मात्रृका प्याकुरेललगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगितात्मक भजन–कीर्तन
महोत्सव अवधिभर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ । शुक्रबार ‘सेवा नै धर्म हो’ भन्ने शीषृकमा आयोजित बाल वक्तृत्वकला प्रतियोगितामा विराटनगरकी दीपशिखा सुवेदी सर्वोत्कृष्ट भएकी थिइन् भने सोही दिन विचार गोष्ठी गरिएको थियो । त्यसमा आयुर्वेद चिकित्सक डा. सिद्धार्थ ठाकुरले आफ्ना विचार प्रस्तुत गरेका थिए । शनिबार भक्ति संगीत प्रतियोगिता गरिएको छ ।

दैनिक स्वास्थ्य जाँच
महोत्सव परिसरमा स्थापना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा प्रसूती विशेषज्ञसहितकोे स्वास्थ्यकर्मीको टोलीले आगन्तुकहरुको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिँदै आएको छ । सुश्रुत आयुर्वेद केन्द्रको सहयोग रहेको स्वास्थ्य शिविरमा प्राञ्जल क्लिनिकले औषधि उपलब्ध गराउँदै आएको छ ।

२५ गतेको कार्यक्रम
दैनिक धार्मिक व्यक्तित्वहरुको प्रवचन हुँदै आएको महोत्सवमा श्री ५ महामंगलपुरीधाम सुरत भारतबाट आचार्य श्री सूर्यनारायणजी महाराजको आगमन हुने र उनको विशेष प्रवचन रहने महासचिव थपलियाले जानकारी दिए । यसैगरी, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको विशेष कार्यक्रम पनि रहेको परिषदका झापा अध्यक्ष मिलनकुमार वस्नेतले जानकारी दिए ।

फागुन २१ गते बुधबार विहान स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन, बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरण र साताव्यापी श्री १०८ सागर तारतम पाठ पारायणको शुभारम्भ श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट भएको थियो भने श्रीकृष्ण कथा ज्ञान महायज्ञको उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्कीबाट भएको थियो ।
अनुष्ठानमा दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, स्वास्थ्य शिविर भइरहेको मूल आयोजक समितिका संयोजक युवा सन्त जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए । यसैगरी, दैनिक सहयोगदाता एवम् समाजसेवी महानुभावहरुलाई सम्मानको कार्यक्रम पनि चलिरहेको समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए ।
वि. सं २०२६ सालमा दानवीर तत्कालीन रापंस स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 558

प्रतिक्रिया (०)

सम्बन्धित खबर